७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालको छुट्टै स्टल रहने, चलचित्रकर्मीहरू पनि सहभागी हुनसक्ने
काठमाडौं । ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले सहभागिता जनाउने भएको छ । मे १२ देखि २३ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालको छुट्टै स्टल रहने चलचित्र विकास बोर्डले बताएको छ ।
नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र र चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ आगामी चलचित्र विकास बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउन लागेको हो ।
चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालको एक स्टल रहने बोर्डले बताएको छ ।
उक्त फेस्टिभलमा व्यक्तिगतरूपमा सहभागी हुने नेपाली चलचित्रकर्मीहरूले बोर्डको स्टल (बुथ) साझा गर्दै आफ्नो चलचित्र, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय दर्शक, वितरक तथा सहकार्यकर्तासमक्ष प्रदर्शन तथा प्रचार–प्रसार गर्न सक्नेछन् ।
यसका लागि इच्छुक चलचित्रकर्मीहरूले बोर्डसँग समन्वय गर्नुपर्नेछ ।



