‘आ बाट आमा’ टिम सिनेमाले कमाएको भन्दा अनमोलको रेकर्ड तोडेकोमा खुसी भएको हो ?
काठमाडौं । यतिबेला चलचित्र वृत्त अनमोल केसीलाई बक्सअफिसमा पल शाहले उछिनेको विषयले गर्माइरहेको छ । अनमोलको ‘जेरी अन टप’को कलेक्सनलाई पलको सिनेमा ‘आ बाट आमा’को बक्सअफिस कलेक्सनले उछिनेपछि अहिले यसको चर्चा छ ।
अनमोललाई पलले उछिने/पछि पारेजस्ता समाचार बनिरहेका छन् । रमाइलो पक्ष चाहिँ यहाँ के छ भने यस्ता समाचार ‘आ बाट आमा’को टिमले खोजी खोजी सेयर गरिरहेको छ ।
‘आ बाट आमा’को फेसबुक पेजमा अनमोललाई पछि पारेको, उछिनेको, बक्सअफिसमा अनमोलभन्दा पल सफल भएकाजस्ता समाचार कहाँ–कहाँ आइरहेका छन्, खोजी खोजी सेयर गरिरहेको देखिएको छ ।
यसले झट्ट हेर्दा ‘आ बाट आमा’ टिम आफ्नो चलचित्रले पैसा कमाएको भन्दा पनि अनमोलको रेकर्ड तोडेकोमा खुसी भएको जस्तो देखिएको छ । यसले यो टिमको उद्देश्य नै अनमोलको रेकर्ड तोड्ने त थिएन भन्ने आशंका उब्जिएको छ ।
त्यसो उद्देश्य अनमोलको मात्रै होइन, अथवा जेरी अन टपको मात्रै होइन, परानको, छक्का पञ्जाको, कबड्डीको हुँदै पूर्ण बहादुरको सारङ्गीको रेकर्ड तोड्ने पनि हुनुपर्छ । हरेक मेकरले अरुको भन्दा राम्रो र सफल चलचित्र बनाउँछु भनेरै लाग्ने हो । लाग्नु पनि पर्छ ।
तर, यहाँनेर हामीले भन्न खोजेको प्रतिस्पर्धा चाहिँ सधैँ स्वस्थ हुनुपर्छ । अरुलाई होच्याउँने, हियाउने र खियाउने होइन । अरुलाई पनि सम्मान गर्दै अगाडि बढ्नुपर्छ । यसले मात्रै चलचित्र उद्योगलाई समृद्ध र सहिष्णु बनाउँछ । एउटाले अर्कोको खुट्टा तानेर होइन, सहयोग र सद्भावले मात्रै अगाडि बढ्न सकिन्छ ।
अनमोल अभिनीत ‘जेरी अन टप’ले १२ करोड २६ लाख रूपैयाँ कलेक्सन गरेको थियो ।
बोर्डको बक्सअफिस तथ्यांक अनुसार पल अभिनीत ‘आ बाट आमा’ले चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार रातिसम्मको बक्सअफिस रिपोर्ट अनुसार १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो करिब ४० लाखको अन्तर हो । तथ्यांकले धेरैको अन्तर नरहेको देखाउँछ । तर, निर्माण टिमले यसलाई नै सबैभन्दा ठूलो जित झैँ गरिरहेको देखिन्छ ।
पलको ‘आ बाट आमा’ वर्ष २०८१ को सर्वाधिक कमाउने दोस्रो ठूलो चलचित्र बनेको छ ।
चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’मा पलसँगै अभिनेत्री विपना थापा, दक्षिण भारतीय कलाकार प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल र उषा उप्रेतीको मुख्य भूमिका रहेको छ ।
चलचित्रले बक्सअफिसमा सोचेभन्दा राम्रो व्यापार गरेपछि निर्माण पक्ष थप उत्साहित बनेको छ । चलचित्र सुपरहिट भएसँगै निर्देशक पन्त र निर्माण टिमले ‘आबाट आमा २’ निर्माण गर्ने औपचारिक घोषणा गरिसकेको छ ।



