१७१ चलचित्र पोस्टर र १० पटकथा हस्तान्तरण

काठमाडौं । नेपाली चलचित्र इतिहास संरक्षणका लागि निर्माण भइरहेको चलचित्र विकास बोर्डको प्रस्तावित चलचित्र संग्रहालयका लागि निर्देशक दीपक तामाङ (लामा)ले महत्वपूर्ण सामग्री हस्तान्तरण गरेका छन् ।

चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा निर्देशक तामाङले १२० तामाङ चलचित्रका पोस्टर, ५१ नेपाली चलचित्रका पोस्टर तथा १० वटा चलचित्रका पटकथा बोर्डलाई हस्तान्तरण गरेका हुन् । उक्त सामग्री चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई औपचारिक रूपमा बुझाइएको हो ।

सामग्री हस्तान्तरण गर्दै निर्देशक तामाङले आफूले निर्देशन गरेका ७८ वटा चलचित्रका सम्पूर्ण स्क्रिप्ट पनि क्रमशः बोर्डलाई हस्तान्तरण गर्ने जानकारी दिए । केही चलचित्रका स्क्रिप्ट हराएकाले हाल पुनः टाइप गर्न दिइएको र तयार हुनेबित्तिकै बोर्डलाई उपलब्ध गराइने उनले बताए ।

तामाङले नेपाली चलचित्रको इतिहास जोगाउन चलचित्र विकास बोर्डले थालेको ऐतिहासिक चलचित्र संग्रहालय निर्माण अभियानमा आफू र आफ्नो टिम सधैं सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।

चलचित्र विकास बोर्डले नेपाली चलचित्रको इतिहास, पोस्टर, पटकथा तथा महत्वपूर्ण दस्तावेजहरू संरक्षण गर्ने उद्देश्यले संग्रहालय निर्माण प्रक्रिया अगाडि बढाइरहेको छ । संग्रहालयले नेपाली चलचित्रको इतिहास, अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ ।