इनिशा विक मृत्यु प्रकरण : ‘बलात्कारीलाई उम्काउने बाहना नखोजियोस्’, न्यायको पक्षमा जुर्मुराए कलाकार
काठमाडौं । सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको मृत्युु घटनामा देशभरबाट आवाज उठ्दै आएका छन् ।
यस घटनाको विरुद्धमा सडक आन्दोलनदेखि सामाजिक सञ्जालसम्म चर्किएको छ । यसैक्रममा सामाजिक कलाकारहरूले पनि इनिशाको न्यायका लागि सशक्त आवाज उठाएका छन् ।
गत फागुन २३ गते ट्युसन पढ्न गएकी इनिशाको वीरेन्द्रनगर-१ स्थित सामुदायिक वनमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । यस घटनाले नेपाली कला क्षेत्रका चर्चित गायक-गायिकादेखि अभिनेत्रीहरूसम्मलाई आक्रोशित बनाएको छ ।
गायिका एलिना चौहानले इनिशाको तस्बिर सेयर गर्दै नेपालको फितलो कानुनी व्यवस्थामाथि प्रश्न उठाएकी छन् । उनले बलात्कारीलाई फाँसीजस्तो कठोर सजाय दिनुपर्ने माग गर्दै लेखेकी छन्, “नेपालमा मानिसको ज्यान लिन सजिलो हुँदै गएको छ । जबसम्म बलात्कारीलाई फाँसी जस्तो कठोर कानुनी दण्ड दिइँदैन, यस्ता घटना रोकिन्छ जस्तो लाग्दैन । आखिर कहिलेसम्म र कति समयपछि बन्द हुन्छन् यस्ता घटनाहरू? ।”
अर्की गायिका रचना रिमालले नेपालमा विगतका यस्तै प्रकृतिका घटनाहरू निर्मला पन्त र निरु विकको प्रसङ्ग निकाल्दै न्याय प्रणालीको ढिलासुस्तीमाथि प्रहार गरेकी छन् । उनले भनेकी छन्, “हामी सबैले आवाज उठाउनै पर्छ। छोरीहरूलाई चुप लाग्न बाध्य बनाउने होइन, न्याय दिलाउनुपर्छ । अपराधीलाई जोगाउने होइन, कडा सजाय दिलाउनुपर्छ ।” रिमालले छोरीहरूको सुरक्षा कुनै दया वा विकल्प नभई अधिकार भएको बताएकी छन् ।
गायक तथा अभिनेता प्रकाश सपूतले यस घटनामा राज्यले ‘शून्य सहनशीलता’को नीति अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, “र, तर, वा, अथवा, तथापि भनेर अपराधीलाई उम्काउने बहाना नखोजियोस् । हामीले थप छोरीहरू गुमाउन नपरोस् ।”
त्यस्तै, गायक शिव परियारले पनि ‘ह्यासट्याग जस्टिस फर इनिशा’ मार्फत अपराधीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
अभिनेत्री केकी अधिकारीले समाजको नैतिक धरातलमाथि प्रश्न उठाएकी छन् । उनले जघन्य हिंसालाई सामान्य मान्ने प्रवृत्तिको विरोध गर्दै लेखेकी छन्, “हामी समाजका रूपमा कहाँ उभिएका छौँ? हामी प्रायः दोष अरूमा खोज्छौँ, तर के हामीले नै यस्ता हिंसालाई सामान्य बनाइरहेका त छैनौँ? दोषी नउम्कियोस्, समाजको चेत खुलोस् । त्यसपछि मात्र विकासका कुरा गरौँला ।”
यस्तै अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै यो घटनालाई ‘अर्को निर्मला पन्त’ बनाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन् । उनले सरकारलाई सिधै चुनौती दिँदै लेखेकी छन्: “देशले फेरि अर्को निर्मला पन्त जस्तो अन्याय सहने छैन । आज इनिशा विकको पीडकहरूलाई बालबालिका कानुनको ढाँचा मिचेर बचाउने प्रयास भइरहेको छ । सरकारलाई सिधा चेतावनी- दोषी जो सुकै होस्, जति शक्तिशाली वा पहुँच भएको किन नहोस्, उनीहरूलाई कानुनले दिने सबैभन्दा कडा सजाय तुरुन्त हुनै पर्छ ।”
उनले अगाडि लेखेकी छन्, “यस्तो जघन्य अपराधलाई कुनै ढाँचा, कानुन, वा बचाउको खेलले ढाक्न सक्दैन । जनता चुप लागेर बस्ने छैन । यदि यस केसलाई कमजोर बनाउने, ढाकछोप गर्ने, वा राजनीति र शक्ति प्रयोग गरेर ‘सोधपुछ घटाउने’ प्रयास भयो भने, त्यसको परिणाम सरकारले सोचेभन्दा धेरै भयानक हुनेछ । आज सरकारको परीक्षा हो । न्याय दिन्छ कि फेरि अर्को निर्मला पन्तजस्तो लाजमर्दो इतिहास दोहोर्याउँछ? देशका छोरीहरूको सुरक्षामा खेल्नेहरूको साहस नहोस् । जनताको धैर्य सकियो भने कुर्सी पनि धेरै समय टिक्दैन ।”
गुर्भाकोट नगरपालिका-६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर-१ मा बस्दै आएकी १६ वर्षीया इनिशा फागुन २३ गते बिहान ट्युसन पढ्न हिँडेकी थिइन् । तर, उनी घर फर्किइनन् । खोजतलासका क्रममा उनलाई स्थानीय सामुदायिक वनमा रगताम्य र शरीरभरि निलडाम भएको बेहोस अवस्थामा फेला पारिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई बलात्कारपछि हत्या गरिएको देखाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यस घटनामा संलग्न भएको आशंकामा हालसम्म ४ जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
इनिशाको न्यायका लागि सुर्खेत लगायत देशका विभिन्न भागमा प्रदर्शन भइरहेका छन् ।



