निर्वाचनपछि ‘एक्सन–कट्’ मुडमा नेपाली चलचित्र, आधा दर्जन सिनेमा फ्लोरमा

काठमाडौं । हालै भएको प्रतिनिधिसभा निर्वाचनको रौनक सकिएसँगै सुस्ताएको नेपाली चलचित्र क्षेत्र पुनः चलायमान भएको छ । मतदानका लागि आफ्ना कार्यतालिका थाती राखेर गृहजिल्ला पुगेका कलाकार र प्राविधिकहरू कार्यथलोमा फर्किएपछि यतिबेला उपत्यकादेखि मोफसलका विभिन्न स्थानमा आधा दर्जन सिनेमाका ‘एक्सन–कट’ भइरहेका छन् ।

यसपटकको निर्वाचनले चलचिको बजेट र कार्यतालिकामा केही असर पुर्‍याए पनि, अहिले सिनेकर्मीहरू नयाँ ऊर्जाका साथ काममा फर्किएका छन् । यसले आगामी वर्ष नेपाली सिनेमाको प्रदर्शनमा थप विविधता ल्याउने अपेक्षा गरिएको छ ।

गत सोमबारदेखि काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेसनल पार्कबाट चलचित्र ‘माया भनेकै यस्तो होला’ को छायांकन भइरहेको छ । अभिनेत्री रेखा थापा करिब आठ वर्षपछि निर्देशनको बागडोर सम्हाल्दै सेटमा फर्किएकी छिन् ।

महाशिवरात्रिको अवसरमा घोषणा गरिएको यो चलचित्र फागुन १० गतेदेखि नै सुटिङमा जाने तयारी थियो । तर, बीचमा निर्वाचन परेपछि छायांकन मिति परिवर्तन गरिएको थियो ।

यस चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह प्रमुख भूमिकामा छन् । यसपटक रेखा पर्दा अगाडि देखिने छैनन्, उनी केवल निर्देशकको भूमिकामा रहनेछिन् ।

यस्तै, निखिल उप्रेती, वर्षा सिवाकोटी र निशा अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘कस्तुरी’को छायांकन पनि सुरु भइसकेको छ । काठमाडौं र आसपासका क्षेत्रमा छायांकन भइरहेको चलचित्रको चुनावका लागि १९ गतेबाट रोकिएको थियो ।

‘कस्तुरी’ को छायांकन २३ गतेबाट सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा होमिएकी अभिनेत्री निशा अधिकारी हार–जितको परिणामलाई बिर्सिएर पुनः अभिनयमा फर्किएकी छिन् । यस चलचित्रलाई ऋत बोहोराले निर्देशन गरिरहेका छन् ।

हाँस्य कलाकार जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को छायांकन धनकुटाको सहिदभूमि गाउँपालिकामा पुनः सुरु भएको छ । निर्वाचन र एक प्राविधिकको असामयिक निधनका कारण केही दिन ढिलो भए पनि अहिले सुटिङले गति लिएको छ ।

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रमा जितुका अलावा प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरुको अभिनय रहने छ ।

यसैगरी, ५० प्रतिशत छायांकन बाँकी छँदा निर्वाचनका कारण काम रोकिएको नयनराज पाण्डेको कथामा आधारित चलचित्र ‘भटभटे’ को छायांकन पनि धनुषामा सुरु भएको छ ।

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौड्यालको डेब्यू निर्देशन रहने चलचित्रमा अभिनेत्री अञ्जना बराइली र सविन कार्की शीर्ष भूमिकामा देखिँदैछिन् ।

निर्देशक गणेशदेव पाण्डेको चलचित्र ‘पारि बुटवल’को ९० प्रतिशत काम सकिएको छ । अनुप बराल र दीया मास्केको मुख्य भूमिका रहेको यो चलचित्रको बाँकी काम केही दिनमै सुरु हुँदैछ ।

सुनिल पाण्डेको निर्देशनमा बन्ने क्राइम–रिभेन्ज ड्रामाको चलचित्र ‘मुक्तिपुर’को मंगलबार काठमाडौँको बसुन्धरास्थित इन्द्रायणी मन्दिरमा शुभमुहूर्त गरियो । ४० दिनको छायांकन तालिका सहित फ्लोरमा निस्किएको यो चलचित्रमा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती, आकृति बुढाथोकी प्रमुख भूमिकामा देखिनेछन् ।