फेरि निर्मातालाई टाट पल्टाउने खेलमा नलाग
नेपाली चलचित्र उद्योगमा हरेक वर्ष कति निर्माताले लगानी डुबाउँछन् भन्ने यकिन तथ्यांक त कसैसँग पनि छैन होला । किन भने लगानी प्रष्टसँग खुलाउने निर्माता कमै छन् । तर, अन्दाज भने लगाउन सकिन्छ बर्सेनि ९० प्रतिशतभन्दा माथि नै चलचित्रका निर्माताले घाटा बेहोर्छन् ।
चलचित्र घाटामा जानुका पछाडि थुप्रै कारण होलान्, जस्तै चलचित्र राम्रो नहुनु, राम्रो भएर पनि दर्शकले मन नपराउनु, पब्लिसिटी लक्षित समूहमा नहुनु आदि । यसबाहेक अर्को कारण पनि छ एउटा, एकै दिन दुई वा दुईभन्दा धेरै चलचित्र प्रदर्शनमा आउनु । एकै दिन दुईभन्दा धेरै चलचित्र प्रदर्शनमा आउँदा स्वभाविक रुपमा चलचित्रको व्यापार खुम्चिन्छ । दर्शकले मन पराए पनि शो थोरै भएपछि आम्दानी खुम्चिन्छ ।
हरेक वर्ष ठूला चाड र लोमो बिदामा यो समस्या दोहोरिने गरेको छ । हाइप बनाएका, राम्रा ब्यानर र अपेक्षा गरिएका चलचित्र एकै दिन आउँदा शो बाँडिन्छन् । र, चलचित्रले राम्रो आम्दानी गर्ने सम्भावना बोकेका चलचित्र नै सीमित ग्रसकलेक्सनमा खुम्चिन्छन् । र, निर्माताहरू टाट पल्टिन्छन् ।
यो वर्ष पनि यस्तै अवस्था देखिँदैछ । दशैँ नजिकिँदै जाँदा यसको लामो बिदाको मौका छोप्ने तयारीमा थुप्रै निर्माता, निर्देशक र वितरक छन् ।
अहिलेसम्म यो दशैँमा चलचित्र ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘झिँगेदाउ–२’, ‘आ बाट आमा–२’ ‘महाराजधिराज’, ‘पाँच पाण्डव’, ‘बाटुलो जुन’ आउने तयारीमा छन् । यी सबै चलचित्र त अवश्य रिलिज नहोलान् । केही अन्तिम समयमा आएर पछि हट्लान् । तर, कम्तीमा तीनवटा त प्रदर्शनमा आउलान् ।
दशैँ र तिहारको लामो बिदा मात्रै होइन । अरु एक/दुई दिनको बिदाको मौका छोप्दै एकै दिन तीनवटासम्म चलचित्र रिलिज हुनु सामान्य जस्तै बन्न थालिसकेको छ ।
पटकपटक एकै दिन तीनवटासम्म नेपाली चलचित्र रिलिज भएको देखेर सामान्य लाग्न थाले पनि लगानी डुबाउनेका लागि भने यो सामान्य होइन । कतिको त सर्वोस्व डुब्ने अवस्था हो ।
किन एकै दिन तीन/चारवटा चलचित्र प्रदर्शन हुन्छन् ? निर्माता, निर्देशक वा वितरकको इगोका कारण यसरी चलचित्र जुध्छन् अथवा निर्माता खुसीखुसी आफैँ आउँछन् ?
जानीबुझी, मनखुसी नै तीन/चारवटा चलचित्रसँग एकै दिन प्रदर्शन हुन निर्माता राजी भएका हुन् भने त कसैले किन भनेर प्रश्न उठाउने अधिकारी रहँदैन ।
तर, नियतबस कसैसँग रिस साध्न नै निर्मातालाई गुमराहमा राखेर जुधाइन्छ भने यो गम्भीर धोका, अपराध र बेइमानी हो । त्यसैले कसैको व्यक्तिगत लडाईंमा कसैलाई ‘बलिको बोको’ नबनाउँ । जबसम्म नेपाली चलचित्र उद्योगमा इमानदारिता र नैतिकता प्रदर्शन हुँदैन, तबसम्म निर्माता डुब्ने र डुबाउने क्रम रोकिँदैन । चलचित्र उद्योग तंग्रिदैन ।



