‘लालीबजार’को गीतमा स्वस्तिमाको जोसिलो नृत्य
काठमाडौं । चलचित्र ‘लालीबजार’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ‘मायालाई के दिउँ म बैना’ बोलको गीत सार्वजनिक गरेको हो ।
गीतमा खेम सेन्चुरी र दिदीपा ब्याम्बू मगरको स्वर छ । रमेश बिजीको शब्द रहेको गीतमा खेम सेन्चुरीले नै संगीत गरेका छन् । डान्सिङ नम्बरको गीतले मयाको बैनाको कुरा गर्छ । आफ्नो मायालुलाई सुरुमै के बैना दिऔँ भन्ने थिमको सेरोफेरोमा गीत तयार पारिएको छ ।
गीतलाई खेमले डान्सिङ नम्बरका रुपमा तयार पारेका छन् । गीतको भिडियोमा चलचित्रकी मुख्य पात्र स्वस्तिमा खड्काको नृत्य छ । रवीन्द्र सिंह बानिया पनि भिडियोमा छन् । उनको उपस्थितिले सिनेमाको कथालाई संकेत गर्ने प्रयास गरेको छ । भिडियोमा स्वस्तिमाको जोसिलो नृत्य देख्न सकिन्छ ।
‘लादीबजार विसं २०८३ वैशाख १८ गते रिलिज हुँदैछ । चलचित्रमा स्वस्तिमा र रवीन्द्रसँगै समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारीलगायतको अभिनय रहेको छ ।
यो चलचित्रमार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।
चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
षट्कोण आर्टसको निर्माणमा बनेको चलचित्रमा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठको छ ।
कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।



