निशाले बिउ जोगाइन् त ? राजनीतिमा लागेकोमा छैन पछुतो, बालेनको शाहसको गरिन् तारिफ

काठमाडौं । नायिका निशा अधिकारीले आफ्नो राजनीतिक दलले जनताको मन जितेको दाबी गरेकी छन् । उनले प्रतिनिधिसभा सदस्यतर्फ गतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेकी थिइन् ।

काठमाडौं ५ बाट चुनाव लडेकी उनले ९१ भोट प्राप्त गरेकी थिइन् । उक्त निर्वाचन क्षेत्रमा खसेको मतको १० प्रतिशत भोट कटाउन नसकेका कारण उनको जमानत जफत भएको थियो । जमानत जफत भएपछि उमेदवारको धरौती फिर्ता हुँदैन ।

निशाले एक पोस्ट सेयर गर्दै ‘अनिकालमा बिउ जोगाउनु’ भन्दै प्रत्यक्षतर्फबाट आफ्नो दलबाट निर्वाचन उठेका उमेदवारले पाएको मत संख्या उल्लेख गरेकी छन् । सुर्खेत २ बाट उठेका पवन थापा मगरले ३४, सर्लाही २ बाट उठेका उमेश कुमार सिंहले १०४ र आफूले ९१ भोट पाएको उल्लेख गरेकी छन् ।

उनले आफ्नो पार्टीले देशभरबाट समानुपातिकतर्फ ५ हजार १०१ मत पाएको जानकारी दिँदै मतदातालाई धन्यवाद भनेकी छन् ।

निशाले निर्वाचन खर्च पनि सार्वजनिक गरेकी छन् । उनले आफ्नो निर्वाचन प्रयोजनका लागि ७ लाख ७६ हजार ९२१ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेकी छन् ।

यसमध्ये उनलाई पार्टीले २ लाख, व्यक्तिगत सहयोग ५ लाख ४९ हजार र आफूले २७ हजार ८५५ रुपैयाँ खर्च गरेको बताएकी छन् । खर्च विवरण हेर्दा प्रतिभोटका लागि ८ हजार ५३७ रुपैयाँको हाराहारी लगानी गर्नु परेको देखिन्छ । (यहाँ गलत अर्थ नलागेमा उनले पैसाले भोट किनेकी हुन् भन्न खोजिएको होइन ।)

निशासँग प्रतिस्पर्धा गरेका सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित भएका थिए । सस्मितले एमाले नेता ईश्वर पोखरेल र कांग्रेस नेता प्रदीप पौडेललगायत हेभिवेट नेताहरूलाई पराजित गरेका थिए ।

‘अनिकालमा बिउ जोगाउनु’ भन्दै निशाले लेखेकी छन्, “हामीलाई विश्वास गर्नु हुने सम्पूर्ण मतदाताहरूप्रति हार्दिक नमन तथा धन्यवाद । यहाँहरूले हाम्रो विचार र एजेन्डा हेरेर हामीलाई पत्याउनु भएको छ । भविष्यलाई ध्यानमा राखेर चालिएका पाइला सशक्त रूपमा अगाडि बढ्नेछन् ।”

देश, नागरिक र मुद्दाहरूलाई अगाडि राखेर आफूले सोचेर, सम्झेर नै राजनीतिमा लागेको बताएकी छन् । त्यसैले अहिले पनि आफ्नो धारणा नबदलिएको उनले प्रस्ट पारेकी छन् ।

निशाले बालेन शाहको आँट र साहसलाई धन्यवाद दिँदै भनेकी छन्, “अब बन्ने सरकारलाई पूर्ण रूपमा समर्थन गर्दै खबरदारीको भूमिकामा बस्न अत्यन्त उत्साहित छु ।”

निशा अहिले चलचित्र ‘कस्तुरी’को छायांकनमा छिन् ।