तीन दिने तालिम दिन काठमाडौं आइपुगे भारतका चर्चित भ्वाइस आर्टिस्ट अमित डिओंडी
काठमाडौं । भारतका चर्चित भ्वाइस आर्टिस्ट अमित डिओंडी काठमाडौं आइपुगेका छन् । चलचित्र विकास बोर्डको आयोजनामा भोलिदेखि तीन दिन चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङका लाति उनी शनिबार १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएका हुन् ।
पहिलोपटक नेपाल आइपुगेका अमितले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “अहिलेको दुनियामा विश्वभरीका कन्टेन्ट सजिलै हेर्न सकिन्छ । त्यसका लागि भाषाको माध्यमले ठूलो भूमिका खेल्छ । नेपाली भाषामा भ्वाइस डबिङको काम गर्नसक्ने धेरै अवसर छन् । यो तीन दिन मेरो अनुभव र मैले जानेका केही कुरा सिकाउने प्रयास गर्नेछु ।”
चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले दक्षता अभिवृद्धि कार्यक्रमलाई अगाडि सारेको र विभिन्न १४ वटा विषयमा तालिम राखिएकोमा भ्वाइस एक्टिङलाई पनि विशेष प्राथमिकता दिइएको बताए ।
“हामीले बोर्डबाट दक्षता अभिवृद्धि भनेर बजेट छुट्टाएरै काम गरिरहेका छौँ । यसअघि पनि धेरै तालिम भइसकेका छन् भने भ्वाइस एक्टिङको विषयमा पनि नेपालमा आवश्यक भएकाले भारतका प्रसिद्ध ब्यक्ति अमित डिओंडीलाई निमन्त्रणा गरेका हौँ,” उनले भने, “उहाँसँग हामीले भ्वाइस एक्टिङका टेक्निकहरु सिक्न सक्छौँ ।”
डिसीका अनुसार बोर्डले ड्रोन ट्रेनिङ, फिल्म लाइट ग्याफर तालिम, मेकअप तालिम, एआई वर्कसप, फोटो तथा भिडियो पत्रकार प्रशिक्षण तालिम तथा पौडी तालिम पनि चैत महिना भित्रै दिँदैछ ।
आइतबार बिहान १०ः३० बाट तीन दिनका लागि दैनिक दुईघण्टा चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङको ब्यवस्थापनको काम सम्राट फिल्मसले गरेको छ । पछिल्लो समय नेपालमा थुप्रै फिल्मको डबिङ तथा साउण्ड मिक्सिङको काम गरिरहेका सम्राट फिल्मस्का सन्चालक भरत कँडेल आफैमा १५ वर्षबढी मुम्बईमा साउण्डमै काम गरेका आएका ब्यक्ति हुन् ।
विश्वकै चर्चित युट्युवर मिस्टर बिस्टको नेपाली भाषामा डबिङको काम पनि सम्राट फिल्मसले नै गर्दै आएको छ ।
भ्वाइस आर्टिस्ट अमित डिओंडीले अमेजन, नेटफिलिक्स तथा चर्चित प्लेटफर्मका लागि तीन हजारभन्दा बढी सिरिज तथा फिल्महरुमा भ्वाइस डबिङ तथा लेखनको काम गरिसकेका छन् । साथै चर्चित कार्टुन सिरिज मोटु पत्लुको घमिक्की अनलाइन’ क्यारेक्टर अमितले नै आवाज दिँदै आएका छन् ।



