चलचित्र ‘पहाड’को टिजरमा प्रेम, आक्रोश, वियोग र बाध्यता
काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । चलचित्रको कथा बताउने प्रयास टिजरले गरे पनि सस्पेन्स राखिएको छ ।
जिन्दगीका उतारचढाव समेटिएको टिजरमा प्रेम, आक्रोश, वियोग र बाध्यतालगायत देखाइएको छ । टिजरमा निकै कम संपाद समेटिएको छ । तर, दृश्यले धेरै कुरा बताएका छन् ।
वैशाख १ गतेबाट प्रदर्शन हुने चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो मा काम गरेका शिव श्रेष्ठ र सुनील थापालाई पनि ‘पहाड’मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायांकन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’लगायत चलचित्रमा सहकार्य गरेका छन् ।
“फिल्मको पटकथा तयार गर्दा देखिएका पात्रमा फिट हुने भएपछि पुरानो सहकार्यलाई पुनः ताजा गरौँ भनेर मैले प्रस्ताव गरेँ । मेरो प्रस्तावमा सम्पूर्ण कलाकारले सहमति जनाउनु भयो, पुरानो समयलाई स्मरण गर्दै नयाँ उत्साहका साथ काम गरेका छौँ,” निर्देशक घिमिरेले भने, “यसपटक दर्शकसँगै यो चलचित्र घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्छ भन्नेमा विश्वस्त छु ।”
‘पहाड’मा विपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यस चलचित्रमार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउँदैछन् ।
फिल्ममा रञ्जित सिंह गजमेर संगीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन् । भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् ।



