अरुणा लामाको कालजयी गीतमा यसरी पोखियो गौँथलीको विरह
काठमाडौं । स्व. गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘परालको आगो’ को नयाँ गीत सार्वजनिक भएको छ ।
आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले सोमबार ‘उडी जाउँ भने, म पन्छी होइन’ बोलको गीत सार्वजनिक गरेको हो ।
चार दशकअघि अरुणा लामाले गाएको चर्चित गीत ‘उडी जाउँ भने म पन्छी होइन’ लाई निर्माण टिमले नयाँ स्वरूपमा ल्याएको छ ।
शान्ती ठटालको संगीत र मन बहादुर मुखियाको शब्द रहेको यो गीत नेपाली संगीतको एउटा इतिहास हो । नयाँ संस्करणमा यसलाई निशु शर्माले स्वर दिएकी छन् भने बिनोद भुजेलले यसको संगीत संयोजन गरेका छन् ।
ओर्जिनल गायिका अरुणा लामाप्रति समर्पित गरिएको यो गीतले पुरानो पुस्तालाई नोस्टाल्जिक बनाउने र नयाँ पुस्तालाई कथासँग जोड्ने विश्वास निर्माण टिमले गरेको छ ।
यस गीतको भिडियोमा सुहाना थापा (गौँथली) केन्द्रविन्दुमा छिन् । आफूले माया गरेको मान्छेभन्दा टाढा बस्नुपर्दाको छटपटी र विरहलाई उनले आँखाको इसारा र भावभंगीमार्फत उत्कृष्ट ढंगले प्रस्तुत गरेकी छन् । चिसो भुईँमा सुतेर झार्ने आँसु र टाढाको गन्तव्य हेर्दै पोखिएको भावनाले दर्शकको मन छुन्छ ।
संकल्प भुजेलको छायांकनले पहाडी गाउँको मौलिकतालाई देखाएको छ । पानी परेको दृश्य, लालटिनको मधुरो प्रकाश, र पहाडी डाँडाकाँडाहरूले गीतको दुखान्त भावलाई अझ गहिरो बनाएको छ ।
रामजी लामिछानेको कोरियोग्राफीमा कुनै तडकभडक छैन, बरु यसले कथालाई अघि बढाउन मद्दत गरेको छ । प्रकाश सपूत (चामे) र बाल कलाकार मञ्जिला बानियाँको उपस्थितिुले गौँथलीको एक्लोपनलाई थप उजागर गरेको छ । प्रकाशको गम्भीर लुक्स र ग्रामीण परिवेशको गेटअपले फिल्मको कालखण्डलाई प्रस्ट पारेको छ ।
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यस चलचित्रमा सुहाना र प्रकाशका साथै सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील पोखरेलको लगानी रहेको छ ।
यस चलचित्रलाई सुशील देवकोटाले लेखेका हुन् । ४५ वर्षअघि प्रताप सुब्बाले निर्देशन गरेको सोही नामको चलचित्रको रिमेक नभई गुरुप्रसाद मैनालीको मूल कथामा आधारित नयाँ प्रस्तुति भएको निर्माण पक्षले जनाएको छ ।
यस चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ ।


