सलमानसँग अनुपविक्रमले खेलेको फिल्मको शीर्षक फेरियो, कारण के हो ?
काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’को नाम परिवर्तन गरिएको छ ।
सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंस्रक झडपको कथामा आधारित यस फिल्मको नाम परिवर्तन गरी ‘मातृभूमि : मे वार रेस्ट इन पीस’ राखिएको छ ।
सोमबार निर्माण पक्षले फिल्मको नयाँ आधिकारिक पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ नाम र रिलिज मितिबारे जानकारी गराएको हो ।
सार्वजनिक पोस्टरमा सलमान खानलाई युद्धभूमिमा घाइते र रक्ताम्मे अवतारमा देखाइएको छ, जसले फिल्मको गम्भीरता र युद्धको विनाशलाई चित्रण गर्छ ।
फिल्मको नाम परिवर्तन हुनुको पछाडि छिमेकी मुलुक चीनको कडा आपत्ति र बढ्दो विवादलाई मुख्य कारण मानिएको छ । चीनको सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले केही समयअघि एक लेख प्रकाशित गर्दै यो फिल्मको विषयवस्तुप्रति असन्तुष्टि जनाएको थियो ।
ग्लोबल टाइम्सले सैन्य विशेषज्ञको हवाला दिँदै भारतले फिल्ममार्फत तथ्य बङ्ग्याउन खोजेको र देशभक्तिको नाममा उत्तेजना फैलाउन खोजेको आरोप लगाएको थियो । दुई देशबीचको सम्बन्ध सुधारोन्मुख रहेका बेला यस्तो फिल्म प्रदर्शन गर्नु उपयुक्त नहुने चीनको तर्क थियो । सम्भावित कूटनीतिक विवाद र प्रदर्शनमा आउन सक्ने अवरोधलाई मध्यनजर गर्दै निर्माण पक्षले फिल्मको नाम नै परिवर्तन गर्ने निर्णय लिएको बुझिएको छ ।
यो फिल्म नेपाली दर्शकका लागि पनि निकै प्रतिक्षित बनेको छ । फिल्ममा नेपालका चर्चित अभिनेता अनुप विक्रम शाही मुख्य भूमिकामा प्रस्तुत छन् । उनले फिल्ममा चिनियाँ सैनिकको चुनौतीपूर्ण भूमिका निभाएका छन् ।
फिल्ममा अनुप विक्रम शाही र सलमान खानबीच १३ मिनेट लामो एउटा भीषण एक्सन सिन समावेश रहेको बुझएको छ । यो नै नेपाली दर्शकका लागि सबैभन्दा ठूलो आकर्षण हुने छ । साथै, फिल्ममा स्व. गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय देख्न सकिनेछ, जसले नेपाली कलाक्षेत्रका लागि गौरवको विषय थपेको छ ।
अपूर्व लाखियाको निर्देशनमा तयार भएको यस ‘वार ड्रामा’मा सलमान खानको जोडी अभिनेत्री चित्रांगदा सिंहसँग बाँधिएको छ । फिल्ममा जेन श, अंकुर भाटिया र विपिन भारद्वाजको पनि महत्त्वपूर्ण अभिनय रहेको छ ।
सलमान खान फिल्मस्को प्रस्तुति रहेको यस फिल्मको ‘मातृभूमि’ बोलको गीत पहिले नै सार्वजनिक भइसकेको छ, जसलाई दर्शकले निकै रुचाएका छन् ।
सलमान खानका फ्यान र नेपाली सिनेप्रेमीहरू यतिबेला अनुप विक्रम शाही र सलमानको पर्दाको टक्कर हेर्न उत्सुकताका साथ पर्खिरहेका छन् ।
युद्धको विभीषिका र राष्ट्रप्रेमको गाथा बोकेको यो फिल्म आगामी १७ अप्रिलमा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ । सन् २०२० को गलवान झडपमा आधारित भए पनि फिल्मले ‘शान्ति’को सन्देश दिन खोजेको संकेत यसको उप-शीर्षक ‘मे वार रेस्ट इन पीस’ (युद्धले शान्ति पाओस्) बाट प्रस्ट हुन्छ ।


