यौनकर्मीको मुद्धा सम्बोधन गर्न माग गर्दै ‘लालिमा’ निर्माताको बालेनलाई खुला पत्र
काठमाडौं । समाजको सबैभन्दा ओझेलमा पारिएको वर्ग यौनकर्मी महिलाहरूको वास्तविक कथामा आधारित चलचित्र ‘लालिमा’ प्रदर्शन भइरहँदा यसकी कार्यकारी निर्माता रिना लामाले बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेखेकी छिन् ।
विगत दुई दशकदेखि यौनकर्मीहरूको स्वास्थ्य र मानवअधिकारको क्षेत्रमा क्रियाशील संस्था ‘आस्था-फेथ’ की कार्यकारी प्रमुख समेत रहेकी लामाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेता बालेन्द्र शाह (बालेन) लाई एक खुला पत्र लेख्दै राज्यको ध्यानाकर्षण गराएकी हुन् ।
फागुन २९ देखि हलहरूमा प्रदर्शन भइरहेको ‘लालिमा’ केवल एउटा चलचित्र मात्र नभई ३ हजार बढी यौनकर्मी महिलाहरूको भोगाइ र आँसुको सामूहिक दस्ताबेज भएको लामाले उल्लेख गरेकी छिन् ।
बालेनलाई सम्बोधन गरिएको पत्रमा उनले भनेकी छिन्, “लाखौँ यौनकर्मी महिलाहरूले दैनिक रूपमा हिंसा, दुर्व्यवहार र सामाजिक बहिस्कार भोगिरहेका छन् । तर, उनीहरूका पीडा र अनुभवले कहिल्यै नीतिगत बहसमा स्थान पाएनन् ।”
लामाले आफ्नो पत्रमार्फत समाज र राज्यको दृष्टिकोणमाथि प्रश्न उठाएकी छिन् । उनले लेखेकी छिन्, “जब यौनकर्मीका कुरा उठ्छन्, त्यसलाई केवल अपराध वा नैतिकताको चस्माबाट मात्र हेरिन्छ । तर उनीहरू पनि यो देशका नागरिक हुन् र उनीहरूको पनि सम्मानपूर्वक बाँच्न पाउने मानवअधिकार छ भन्ने कुरा बिर्सिइन्छ ।”
उनले बालेनलाई ती सीमान्तकृत महिलाहरूको मानवअधिकार सुनिश्चित गर्न र उनीहरूको उत्थानका लागि नीतिगत सुधारको पहल गर्न संवादका लागि निम्तो समेत दिएकी छिन् ।
यौनकर्मी महिलाहरूको स्वास्थ्य, सुरक्षा र पहिचानका लागि २० वर्षदेखि सङ्घर्षरत संस्था ‘आस्था-फेथ’ ले निर्माण गरेको यो चलचित्रले नेपाली समाजको कठोर यथार्थलाई पर्दामा उतारेको छ ।
निर्माता लामाका अनुसार यो चलचित्रले यौनकर्मीको मानवअधिकार हननका विषयलाई उजागर गर्दै उनीहरूलाई समाजको मूल प्रवाहमा ल्याउन दबाब दिने लक्ष्य राखेको छ ।
पत्रको अन्त्यमा लामाले एक सन्देश दिएकी छिन्, “वास्तवमै समावेशी राष्ट्र तब मात्र बन्छ, जब राज्यले आफ्ना अति सीमान्तकृत नागरिकहरूको मर्यादा र अधिकारको संरक्षण गर्छ ।”
यस चलचित्रमा रोश्नी कार्की, जीवन भट्टराई, उषा रजक र शिशिर बाङ्देल मुख्य भूमिकामा छन् । अन्य कलाकारहरू सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललगायतको पनि अभिनय रहेको छ ।


