‘जलाकी’मा रोचक ‘यू-टर्न’ : धिरज मगर बाहिरिए, सोनम तोप्देनको पुनरागमन
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एउटा सिनेमाको सुटिङका क्रममा मुख्य कलाकार परिवर्तन हुनु सामान्य मानिए पनि ‘जलाकी’को हकमा भने एउटा रोचक ‘यू-टर्न’ देखिएको छ ।
मगर समुदायको संस्कृति र त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र ‘जलाकी’को निर्माण प्रक्रियामा खुट्टा भाँचिएर थलिएका कारण सिनेमा छाड्न बाध्य भएका अभिनेता सोनम तोप्देन अन्ततः आफ्नै भूमिकामा फर्किएका छन् । योसँगै निर्माण टिमले भित्र्याएका अर्का अभिनेता धिरज मगर भने प्रोजेक्टबाट बाहिरिएका छन् ।
चलचित्रको घोषणा र शुभमुहूर्त चरण सुरु हुँदा सोनम तोप्देन नै मुख्य भूमिकामा थिए । तर, अर्को चलचित्र ‘ऐरी’को सुटिङका क्रममा एउटा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टा भाँचियो । उनी निको हुन समय लाग्ने भएपछि चलचित्रका निर्देशक अशोक थापा मगरले सिनेमाको काम नरोक्न धिरज मगरलाई मुख्य अभिनेताका रूपमा अनुबन्ध गरे । त्यतिबेला धिरज र मुख्य अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड पोस्टर समेत सार्वजनिक गरिएको थियो ।
निर्माण टिमले बागलुङको कालिका मन्दिरमा शुभमुहूर्तसँगै छायांकन सुरु गरेको थियो । तर, पहिलो चरणको मेन्टाज दृश्य खिचेपछि छायांकन तालिका केही समय लम्बिएसँगै सोनमलाई आफ्नो पुरानो भूमिकामा दोहोरिने ‘दोस्रो मौका’ मिलेको छ ।
अहिले सोनम पूर्ण रूपमा निको भएर काममा फर्किएका छन् । धिरज बाहिरिएसँगै निर्माण टिमले पुनः सोनमलाई नै उनको पुरानो भूमिका सुम्पिएको छ ।
कास्कीका विभिन्न रमणीय स्थलहरूमा धमाधम छायांकन भइरहेको यस चलचित्रबाट धिरजले निर्माण टिमबीचको आपसी सहमतिमै सिनेमा छाडेका हुन् ।
यो चलचित्रमा उपासना सिंह ठकुरी मुख्य अभिनेत्रीको भूमिकामा छिन् । निर्देशक अशोक थापा मगरसँग उपासनाको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सुपरहिट सिनेमा ‘खुस्मा’मा सँगै काम गरेका थिए, जसबाट उपासनाले उत्कृष्ट अभिनेत्रीको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत हात पारेकी थिइन् ।
सुरुवाती घोषणामा यस चलचित्रमा आकृति राजभण्डारीले डेब्यु भनिएको थियो । तर, यसबीचमा उनले निर्देशक दिनेश राउतको चलचित्र ‘कुमारी’बाट डेब्यु गरिन् ।
हाल ‘जलाकी’मा उनको आबद्धताबारे निर्माण टिमले कुनै औपचारिक जानकारी दिएको छैन । यद्यपि, यही चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यु गर्दैछिन् ।
हाल निर्माण टिमले आकृतिको अभिनय रहने या नरहनेबारे कुनै जानकारी गराएको छैन । ‘जलाकी’बाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यु गर्दैछिन् ।
चलचित्रमा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारहरूको अभिनय रहनेछ।
‘जलाकी’ले मगर समुदायको एउटा गहिरो अर्थ बोकेको छ । निर्देशक थापा मगरका अनुसार ‘जलाकी’ भनेको मगर समुदायमा आस्थाको प्रतीकका रूपमा मानिने ढुङ्गाले चिनिएको स्तम्भ हो । यसलाई कसैको सम्झना र मायाको प्रतीकको रूपमा पनि लिइन्छ ।
चलचित्रको छायांकन नेपालका विभिन्न पहाडी भू-भागहरू रुकुम, रोल्पा, म्याग्दी, बागलुङ र पोखरामा गरिनेछ । सिनेमाको केही महत्त्वपूर्ण दृश्यहरू दक्षिण कोरियामा समेत खिचिने निर्माण पक्षले जनाएको छ ।
एम मिडिया प्रालीको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई शैलेन्द्र डी कार्कीले छायांकन गरिरहेका छन् ।
यो चलचित्रको निर्मातामा ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।


