‘धागोले बाटेको’ पछि आयो ‘हुम्लाको लिमी’

काठमाडौं । माइकल चन्दको निर्देशन रहेको चलचित्र ‘राम नाम सत्य’को निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको छ ।

यसअघि ‘धागोले बाटेको’ गीतले युट्युबमा ४० लाख (४ मिलियन) भन्दा बढी भ्यूज बटुल्दै चर्चामा रहेका बेला
बिहीबार ‘हुम्लाको लिमी’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक भिडियोको सबैभन्दा बलियो पक्ष यसको छायांकन र मौलिकता हो । दैलेखका ऐतिहासिक तथा धार्मिक सम्पदा र पर्यटकीय स्थलहरूमा खिचिएको यो भिडियोमा नेपालीपन झल्किन्छ । कोरियोग्राफर सियोन श्रेष्ठले गीतको भाव अनुसार कलाकारहरूलाई मौलिक र रोमान्टिक शैलीमा नचाएका छन् ।

भिडियोमा चलचित्रका मुख्य पात्र विराज भट्ट र नव-नायिका खुशी कार्कीको केमेस्ट्री देखिन्छ । परम्परागत पहिरनमा सजिएकी खुशी कार्की र जुल्फी जुँगासहितको फरक गेटअपमा देखिएका विराज भट्टको नृत्यले दर्शकलाई आकर्षित गर्छ । जसमा स्थानीय संस्कृति झल्किने भेषभुषा र बाजागाजा (दमाहा र झ्याली) को समेत सुन्दर प्रयोग गरिएको छ ।

विराज र खुशीको उमेरको अन्तर भए तापनि स्क्रिनमा उनीहरूको केमेस्ट्री निकै सुहाएको देखिन्छ ।

‘हुम्लाको लिमी’ मा लोकप्रिय संगीतकार तथा गायक एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको छ । एसडी योगीकै संगीत रहेको गीतमा मौसम अर्यालको शब्द छ । गीतको लय र शब्दले दर्शकलाई नाचौँ-नाचौँ बनाउने खालको छ, जसलाई ‘फल्क-पप’ शैलीमा तयार पारिएको छ ।

माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो चलचित्रमा विराज र खुशीका साथै सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी र आयुष सिंह ठकुरी लगायत कलाकारहरूको अभिनय छ ।

लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको यस चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको चलचित्रका क्रिएटिभ निर्माता मोती कार्की हुन् ।

राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेको यो चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवा अन्सारीको संगीत छ ।

निर्देशक चन्दकै कथा र पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको डीओपी छ ।

चलचित्र ‘राम नाम सत्य’ आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउनेछ । टिजर र गीतले पाएको सुखद प्रतिक्रियाले यो चलचित्रले बक्स अफिसमा बलियो व्यापार गर्ने संकेत गरेको छ ।