राजेश हमाल अभिनित चलचित्रका नाममा बजेट दुरुपयोग, ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिनेता राजेश हमाल अभिनित एक चलचित्रमा बजेट दुरुपयोग गरेको भन्दै ४ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले सार्वजनिक सम्पत्ति हानी पुर्याई भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

चलचित्र निर्माणका नाममा सार्वजनिक बजेट दुरुपयोग गरेको आरोपमा अछामको ढकारी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहसहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

यसैगरी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद र लेखापाल विमल साउदलाई मुख्य प्रतिवादी बनाउँदै विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

अख्तियारका अनुसार अछामको ढकारी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा कार्यसमिति सदस्यले राजेश हमाल अभिनित व्यक्तिगत निर्देशनमा निर्देशन भइरहेको चलचित्रमा १५ लाख छुट्याएर सरकारी बजेट दुरूपयोग गरेको उजुरीका आधारमा अनुसन्धान भएको हो ।

अनुसन्धान हुँदा जिल्ला अछाम, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउद, आर.जे.ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्साल भन्ने राम बहादुर लम्सालले आपसी मिलेमतो गरी बदनियतपूर्वक सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ को उपनियम (१) को प्रावधान प्रतिकूल बजेट नै विनियोजन नभई अन्धपथ चलचित्र निर्माणको लागि सम्झौता गरेको अख्तियारको भनाइ छ ।

कानुन विपरीतको वदनियतपूर्ण कार्यलाई ढाकछोप गर्न मिति २०८१/०७/०६ गतेको कार्यपालिकाको बैठकले सम्झौतालाई अनुमोदन गराएको र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (१) को देहाय (क) को प्रतिकूल हुने गरी १५ लाख ५ हजारको सम्झौता विना प्रतिस्पर्धा नै सोझै खरिद कार्य गरे गराएको दाबी गरिएको छ ।

अख्तियारले हिँउदे अधिवेशनबाट कार्यक्रम संशोधन तथा रकमान्तर गरी गराई योजनामा बदनियत राखी आफ्नो पद तथा ओहदाको दुरूपयोग गरी गराई आफ्नो जिम्मामा रहेको जम्मा बिगो १२ लाख ७७ हजार बराबरको सार्वजनिक सम्पत्ति दुरूपयोग गरेको अख्तियारको ठहर छ ।

निजी प्रयोग प्रचलन तथा हस्तान्तरण गरे गराएको तथ्य पुष्टि भएकाले निज प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा देहायबमोजिमको सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजीसँग २०८१ भदौ १८ गते पालिका अध्यक्ष प्रकाशले सम्झौता समेत गरेको देखिन्छ । तर कार्यान्वयन भने भएको छैन । उनीहरूविरूद्ध प्रतिव्यक्ति १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।