ज्योति मगरमाथि सामाजिक सञ्जालमा बहिष्कारको ट्रेन्ड र स्टेजबाटै लखेट्ने धम्की
काठमाडौं । आफ्ना बोल्ड प्रस्तुति र लोकदोहोरी गायनका कारण चर्चामा रहने गायिका ज्योति मगर पछिल्लो समय सांगीतिक कारणले भन्दा पनि राजनीतिक विवादका कारण केन्द्रमा छिन् ।
सामाजिक सञ्जालमा उनीविरुद्ध गालीगलौज र बहिष्कारको ‘शृङ्खलाबद्ध’ अभियान नै सुरु भएको छ । विशेषगरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको राजनीतिक ध्रुवीकरणको बाछिटा ज्योतिमाथि परेको देखिन्छ ।
केही समययता ज्योति मगरले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा खुलेरै अभिव्यक्ति दिँदै आएकी छिन् ।
एमालेसँग उनको नाम जोडेर विभिन्न टिप्पणी भइरहेका बेला ज्योतिले रास्वपा र त्यसका समर्थकहरूलाई लक्षित गर्दै आक्रामक पोस्टहरू गरेपछि विवादले उग्र रूप लिएको हो ।
उनले सामाजिक सञ्जालमा रास्वपाप्रति व्यङ्ग्य गर्ने र एमालेको बचाउ गर्ने क्रम बढेसँगै रास्वपाका समर्थकहरू उनीप्रति निकै रुष्ट बनेका छन् । यसैको परिणामस्वरुप उनका हरेक पोस्टमा ‘हेट स्पिच’ र अश्लील गालीहरूको बाढी आउन थालेको छ ।
ज्योतिले हालै चैत ३ गते कञ्चनपुरको पुनर्वास महोत्सव र चैत ४ गते दाङको घोराहीमा आफ्ना प्रस्तुतिहरू दिएकी थिइन् । ती कार्यक्रमका तस्बिर र भिडियोहरू सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्ट बक्समा उनलाई स्टेजबाटै लखेट्ने सम्मका धम्कीहरू देखिएका छन् ।
धेरैजसो प्रयोगकर्ताहरूले ‘यस्ता कलाकारलाई बहिष्कार गरौँ’ भन्दै अभियान चलाएका छन् । केही कमेन्टहरूमा लेखिएको छ, ‘रास्वपाका कार्यकर्ताहरू ज्योतिको कार्यक्रममा नजानू, उनलाई स्टेजबाटै लखेट्नुपर्छ ।’ कतिपयले उनलाई ‘एमालेको झोले’ को संज्ञा दिँदै उनको सांगीतिक करियर नै समाप्त पारिदिने चेतावनी समेत दिएका छन् ।
नेपाली कलाकारिता क्षेत्रमा कुनै निश्चित राजनीतिक दलको पक्षमा खुलेर लाग्दा व्यावसायिक जीवनमा कस्तो असर पर्छ भन्ने उदाहरण ज्योति मगरमाथि भइरहेको यो प्रहारले देखाउँछ ।
पछिल्लो समय उनका केही पोस्ट रास्वपाप्रति लक्षित पनि देखिन्छ । जसको कारण, उनी लक्षित गालीगलौजको बाढी आएको देखिन्छ । उनका अभिव्यक्तिले एउटा ठुलो तप्कालाई चिढाएको छ, जसको प्रत्यक्ष असर उनको स्टेज शो र सार्वजनिक छविमा देखिन थालेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा उनीमाथि हुने टिप्पणीहरू केवल आलोचनामा मात्र सीमित छैनन्, ती निकै अश्लील र हिंसा भड्काउने खालका समेत छन् ।
यति ठुलो मात्रामा गाली र बहिष्कारको धम्की आउँदा पनि ज्योति मगरले भने आफ्नो स्वभावअनुसार नै यसलाई बेवास्ता गरिरहेकी छिन् ।
उनले आफ्ना राजनीतिक विचारहरू राख्न नछोड्ने र यस्ता धम्कीबाट नडराउने संकेत दिएकी छिन् । साथै, आफ्ना सांगीतिक कार्यक्रमहरूलाई निरन्तरता दिइरहेकी छिन् ।


