बक्स अफिसमा ‘धुरन्धर २’ को सुनामी, विश्वव्यापी कमाइ करिब ३७०
काठमाडौं । बलिउड चलचित्र ‘धुरन्धर २’ (धुरन्धरः द रिभेन्ज) ले भारतीय बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ ।
हरेक दिन आफ्नो कलेक्सनले आश्चर्यचकित गरिरहेको ‘धुरन्धर २’ले भारतीय बक्स अफिसमा बलिउडको इतिहासमै सबैभन्दा ठूलो ओपनिङको कीर्तिमान बनाइ सकेको छ । यसअघि यो रेकर्ड ‘जवान’को नाममा थियो, जसले ७५ करोडको ओपनिङ गरेको थियो ।
‘धुरन्धर २’ले भने पहिलो दिन नै एक सय करोडभन्दा बढीको कमाइ गरेको छ । यता रिलिज भएको सुरुवाती तीन दिनमै चलचित्रले ३ सय करोड भारूको विशाल आँकडा पार गर्दै भारतीय सिनेमा जगतमा नयाँ तरंग ल्याएको छ ।
ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार ‘धुरन्धर २’ले रिलिज हुनु अगावै ‘पेड प्रिभ्यू’ बाटै आक्रामक रूपमा सुरु भएको थियो । मार्च १८ (बुधबार) मा राखिएको पेड प्रिभ्यूबाट मात्रै चलचित्रले ४३ करोड भारू नेट कमाएको थियो ।
रिलिजको तेस्रो दिनमा ‘धुरन्धर २’को कुल कलेक्सन भारतीय बक्स अफिसमा ३३९.२७ करोड पुगेको छ । यसले विश्वव्यापी रूपमा भने अहिलेसम्म करिब ३७० करोड भारू ग्रस कलेक्सन गरिसकेको छ ।
पहिलो दिन (बिहीबार): १०२.५५ करोड भारू
दोस्रो दिन (शुक्रबार): ८०.७२ करोड भारू
तेस्रो दिन (शनिबार): ११३ करोड भारू (अहिलेसम्मकै उच्च एक दिने कमाई)
यस चलचित्रले बलिउडका कयौ ब्लकबस्टर फिल्महरूको ‘लाइफटाइम’ कलेक्सनलाई मात्र ७२ घण्टामा उछिनेको छ ।
‘धुरन्धर २’ ले पछाडि पारेका केही प्रमुख चलचित्रहरू
टाइगर जिन्दा है: ३३९.१६ करोड
सैयारा: ३३७.७८ करोड
बजरंगी भाईजान : ३२०.३४ करोड भारू
वार : ३१८.०१ करोड भारू
पद्मावत : ३०२.१५ करोड भारू
सुल्तान : ३००.४५ करोड भारू
वार २ : २३६.५५ करोड भारू
यति मात्र होइन विश्वव्यापी कलेक्सनको दौडमा यसले साउथ सुपरस्टार प्रभासको चलचित्र ‘राजा साहेब’ (२०८.३८ करोड) को रेकर्डलाई पनि निकै पछाडि पारेको छ । अब यसको नजर सनी देओलको ‘बोर्डर २’ को रेकर्डमा रहेको छ ।
‘उरी: द सर्जिकल स्ट्राइक’ फेम निर्देशक आदित्य धरको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र एक जासूसी थ्रिलर हो ।
चलचित्रको मुख्य आकर्षण रणवीर सिंहको दमदार एक्सन र अभिनय रहेको छ । रणवीरका साथै चलचित्रमा आर माधवन, अर्जुन रामपाल, सञ्जय दत्त, सारा अर्जुन र राकेश बेदी कलाकारहरूको अभिनय छ ।
‘धुरन्धर २’ ले पाकिस्तानको आतंकवादी समूह विरुद्ध लड्ने भारतीय जासूसी मिसनको रोमाञ्चक कथा भन्छ । विशेषगरी पाकिस्तानको कराँचीस्थित ‘लिहारी टाउन’ वरिपरि फैलिएको आपराधिक सञ्जाल र जासूसी गतिविधिलाई चलचित्रमा उतारिएको छ ।
भारतमा जस्तै नेपालका सिनेमा हलहरूमा पनि ‘धुरन्धर २’ ले सानदार व्यापार गरिरहेको छ । काठमाडौं लगायत प्रमुख सहरका मल्टिप्लेक्सहरूमा चलचित्रले उच्च अकुपेन्सी पाएको छ । नेपाली दर्शकहरूमाझ पनि रणवीर सिंहको एक्सन अवतार र आदित्य धरको निर्देशनको निकै प्रशंसा भइरहेको छ ।
‘धुरन्धर २’ ले जुन रफ्तारमा व्यापार गरिरहेको छ, यसले सन् २०२६ को सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म बन्ने निश्चित गरेको छ । आइतबारको बिदामा यसको कलेक्सन अझै बढ्ने र छिट्टै ५०० करोडको क्लबमा प्रवेश गर्ने अनुमान गरिएको छ।

