गुपचुप व्यस्त केकी: एउटा फिल्मको मेकअप उतार्न नपाउँदै अर्को क्यारेक्टरमा पस्नुपर्ने ‘प्रेसर’ !
काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफ्नो करिअरको सबैभन्दा व्यस्त र सफल मोडमा छिन् । कुनै समय थियो, उनको अभिनयको तारिफ हुन्थ्यो तर बक्स अफिसमा उनको ‘जादू’ चल्दैनथ्यो ।
तर, अहिले समय फेरिएको छ । केही समयअघिसम्म अभिनयको प्रशंसा भए पनि व्यावसायिक सफलताको पर्खाइमा रहेकी केकीका लागि पछिल्लो वर्षयता ‘टर्निङ पोइन्ट’ सावित भएको छ ।
यतिबेला केकीको करिअरले यस्तो गति लिएको छ कि उनलाई अहिले सिनेमाको छायांकनबाट टाउको उठाउने फुर्सद समेत छैन । सुटिङको यो चटारो यति छ कि एउटा चलचित्रको मेकअप उतार्न नपाउँदै उनी अर्को चलचित्रको क्यारेक्टरमा पस्नुपर्ने अवस्था छ ।
‘बोक्सीको घर’ र ‘परान’ जस्ता चलचित्रले बक्स अफिसमा ठूलो सफल्ता पाएपछि केकीको हातमा अहिले नयाँ प्रोजेक्टहरूको लाइन लागेको छ । अहिले उनी गुपचुप रूपमा आफ्ना नयाँ कामहरूमा व्यस्त देखिएकी छिन् । उनको हालको व्यस्तता र आगामी प्रोजेक्टलाई हेर्दा उनलाई सिनेमाको ‘लाइन’ लागेको भन्दा फरक पर्दैन ।
हाल केकी निर्देशक एवं निर्माता अशोक शर्माको निर्देशनमा निर्माण भइरहेको नयाँ चलचित्र ‘डबल त्रिपल’ को छायांकनमा व्यस्त छिन् । यो चलचित्रको छायांकन यतिबेला पूर्वी नेपालका विभिन्न सहरहरूमा भइरहेको छ ।
यसअघि केकीले चलचित्र ‘झिँगेदाउ २’ को छायांकन सफलतापूर्वक सम्पन्न गरिसकेकी छिन् ।
केकी अभिनित चलचित्र ‘काजी’ रिलिजको पखाईमा छ । यसअघि यो चलचित्र गत चैत २७ गते प्रदर्शनमा आउने भनिए पनि प्राविधिक कारण र केही दृश्य खिच्न बाँकी रहेकाले प्रदर्शन मिति सरेको थियो ।
‘डबल त्रिपल’ को काम सकेलगत्तै केकीले ‘काजी’को बाँकी रहेका दृश्यहरूको छायांकन पूरा गर्ने तालिका छ । त्यसपछि उनको यात्रा रोकिने छैन, किनकि ‘छ माया छपक्कै २’ ले उनलाई कुरिरहेको छ ।
अभिनेत्रीको रूपमा मात्र नभई केकीले आफूलाई एक सफल निर्माताको रूपमा पनि स्थापित गरिसकेकी छिन् । आफ्नै ब्यानरबाट निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ ले बक्स अफिसमा दोहोरो अंकको (करोडौंको) व्यापार गरेपछि उनी उत्साहित छिन् ।
यसै सफलताको जगमा केकीले निर्देशक सुलक्षण भारतीसँग पुनः सहकार्य गर्दै नयाँ चलचित्र ‘पेट्रोल पम्प’ को घोषणा गरिसकेकी छिन् । सोसल ड्रामा जनरामा बन्ने यो चलचित्र वि.सं. २०८३ मा रिलिज हुने लक्ष्य राखिएको छ ।
आफ्नै ब्यानरको काम भएकाले यसमा केकीले विशेष मेहनत गरिरहेकी छिन् । यो चलचित्रको प्रि-प्रोडक्सनको काम पनि उनले गुपचुप रूपमै अघि बढाइरहेकी छन् ।
केकी अधिकारी सुरुदेखि नै राम्रो अभिनय गर्ने अभिनेत्रीका रूपमा चिनिन्थिन्, तर उनलाई ‘ब्लकबस्टर’ ट्याग पाउन भने लामो समय कुर्नुपर्यो । गत वर्ष रिलिज भएको ‘बोक्सीको घर’ र यसै वर्ष रिलिज भएको ‘परान’ ले उनलाई त्यो सफलता दिलायो ।
अहिले केकीको अवस्था यस्तो छ कि उनी एकपछि अर्को ठूला प्रोजेक्टमा अनुबन्धित भइरहेकी छिन् । आफ्नै ब्यानरको फिल्म फापेपछि सुरु भएको उनको यो सुखद यात्राले नेपाली फिल्म उद्योगमा उनको स्टारडमलाई अझ उचाइमा पुर्याएको छ ।
लगातारका सफलता र हातमा रहेका प्रोजेक्टहरूले केकीलाई यतिबेला नेपाली रजतपटकै सबैभन्दा ‘डिमाण्डेड’ र ‘बिजी’ अभिनेत्रीका रूपमा उभ्याएको छ ।

