‘शोले’ का निर्देशक रमेश सिप्पी नेपाल आउँदै

काठमाडौं । भारतीय चलचित्र उद्योगका दिग्गज निर्देशक, निर्माता तथा कलाकार रमेश सिप्पी नेपाल आउने भएका छन् । आगामी चैत १९ गतेदेखि काठमाडौँमा सुरु हुन लागेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को दशौँ संस्करणमा विशेष अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

महोत्सव आयोजक समिति ‘निफ’का अध्यक्ष केपी पाठकले सिप्पीको नेपाल भ्रमण पक्का भएको जानकारी दिए । उद्घाटन समारोहमा विशेष उपस्थितिसँगै सिप्पीले महोत्सवका क्रममा नेपाली चलचित्रकर्मी र दर्शकहरूसँग आफ्नो लामो फिल्मी अनुभव र भारतीय सिनेमाको रूपान्तरणबारे संवाद गर्नेछन् ।

निफले यसपटक अन्तर्राष्ट्रियस्तरको सिकाइ र सम्बन्ध विस्तारलाई प्राथमिकता दिएको छ । अध्यक्ष पाठकका अनुसार सिप्पीको उपस्थितिले नेपाली मेकरहरूलाई बलिउडको ठूलो बजार, फिल्म मेकिङको प्राविधिक पक्ष र व्यावसायिक सफलताका सूत्रहरूबारे बुझ्न ठूलो मद्दत पुग्नेछ ।

पाठकले भने, “नेपाली र भारतीय चलचित्रकर्मीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन र दिग्गज व्यक्तित्वको अनुभवबाट हाम्रा युवा मेकरहरूलाई लाभान्वित गराउन हामीले उहाँलाई निमन्त्रणा गरेका थियौँ । उहाँले हाम्रो प्रस्ताव सहर्ष स्वीकार गर्नुभएको छ ।”

रमेश सिप्पी भारतीय सिनेमाका त्यस्ता निर्देशक हुन्, जसले सन् १९७५ मा ‘शोले’ जस्तो कालजयी चलचित्र निर्देशन गरेर बलिउडको इतिहासमै एउटा नयाँ मानक स्थापित गरे ।

दशकौँ लामो करियरमा उनले दर्जनौँ हिट चलचित्रहरू दिएका छन् । उनले भारतीय अभिनेता अमिताभ बच्चनदेखि दीलिप कुमार, शाहरुख खान, धर्मेन्द्र, राजेश खन्ना, ऋषि कपुर र सञ्जय दत्तजस्ता हस्तीहरूलाई आफ्ना सिनेमामा अभिनय गराएका छन् ।

निर्देशकका साथै सफल निर्माता र कलाकारसमेत रहेका सिप्पीको पछिल्लो निर्देशित सिनेमा ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो ।

‘निफ’ मा यस वर्ष विश्वका ४० देशका ८८ वटा चलचित्रहरू प्रदर्शन गरिनेछन् । चलचित्र प्रदर्शनका साथै महोत्सवको अर्को मुख्य आकर्षण भनेको विभिन्न १० वटा विषयमा गरिने ‘प्यानल डिस्कसन’ र अन्तर्क्रियात्मक कार्यक्रमहरू हुन् ।

काठमाडौँका विभिन्न स्थानमा हुने यो महोत्सवले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण र विश्वभरका चलचित्र संस्कृतिलाई नेपाली दर्शकसम्म पुर्‍याउने लक्ष्य राखेको छ । बलिउडका हस्ती सिप्पीको आगमनले महोत्सवको गरिमा अझ बढ्ने अपेक्षा आयोजकले राखेको छ ।