‘तारा’ बन्न बेनिशाले लिइन् सिनेमाबाट दुई महिनाको विश्राम
काठमाडौं । अभिनेत्री बेनिशा हमाल अब भिन्न स्वरूपमा दर्शकमाझ आउने भएकी छिन् । पर्दामा आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेकी बेनिशाले अब रङ्गमञ्चमा पाइला टेक्न लागेकी हुन् । यसै सिलसिलामा उनले आगामी दुई महिनाका लागि चलचित्रका सबै कामबाट विश्राम लिने घोषणा गरेकी छिन् ।
मदन पुरस्कार प्राप्त चर्चित लेखक अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ मा आधारित नाटक मञ्चन हुने तयारीमा छ । यसै नाटकमार्फत बेनिशाले थिएटरमा आफ्नो डेब्यु गर्न लागेकी हुन् ।
उपन्यासको केन्द्रीय पात्र ‘तारा’ को चुनौतीपूर्ण र सशक्त भूमिकालाई जीवन्त बनाउन उनले दुई महिनाको समय पूर्ण रूपमा नाटकलाई दिने निर्णय गरेकी हुन् ।
यो बीचमा उनले कुनै पनि नयाँ चलचित्रको छायांकनमा नजोडिने र केवल नाटकको तयारीमा केन्द्रित हुने बताएकी छिन् ।
एक महिना लामो अष्ट्रेलिया बसाइँ सकेर हालै नेपाल फर्किएकी बेनिशाको प्राथमिकतामा अहिले रङ्गमञ्च परेको छ । नाटकका लागि आवश्यक शारीरिक हाउभाउ, संवाद सम्प्रेषण र पात्रको गहिराइलाई बुझ्न उनी अहिले टिमसँग वर्कसपमा व्यस्त छिन् ।
“यो मेरो लागि नयाँ र विशेष अनुभव हो । ‘तारा’ जस्तो गहिरो र भावनात्मक पात्रलाई न्याय गर्न मलाई समय र एकाग्रता आवश्यक थियो, त्यसैले मैले दुई महिना सिनेमाबाट टाढा रहेर रङ्गमञ्चलाई समय दिने सोचेकी हुँ,” उनले भनिन् ।
चलचित्रमा स्थापित भइसकेका कलाकारहरू पछिल्लो समय रङ्गमञ्चतर्फ आकर्षित भइरहेका छन् । यही लहरमा बेनिशाले पनि आफूलाई अब्बल सावित गर्न ‘सेतो धरती’ रोजेकी हुन् ।
उपन्यासमा बालविधवाको पीडा, सामाजिक परिवेश र संघर्षको कथा समेटिएको छ, जसमा बेनिशाले प्रमुख भूमिका निर्वाह गर्दैछिन् ।
सिनेमामा ग्ल्यामरस र गम्भीर दुवै चरित्रमा फिट देखिने बेनिशालाई ‘सेतो धरती’को ‘तारा’को रूपमा हेर्न उनका दर्शकका लागि कौतुहलता हुने देखिएको छ ।

