बक्स अफिसमा नराम्रोसँग पछारियो ‘लालिमा’

काठमाडौं । यौनकर्मीहरूको कथा र व्यथालाई पर्दामा उतार्ने प्रयास गरेको चलचित्र ‘लालिमा’ व्यावसायिक रूपमा भने नराम्रोसँग पछारिएको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको साप्ताहिक बक्स अफिस रिपोर्ट अनुसार रोशन मिराजको निर्देशनमा तयार भएको यस चलचित्रले ९ दिनको अवधिमा मात्र ५ लाख २९ हजार ७३८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

फागुन २९ बाट प्रदर्शनमा आएको ‘लालिमा’ले चैत ७ गते शनिबारसम्मको यस तथ्यांकले चलचित्रको उपस्थितिलाई निकै कमजोर देखाएको छ ।

बोर्डको तथ्यांक अनुसार यो अवधिमा देशभरका हलहरूबाट मात्र २ हजार ४० वटा टिकट बिक्री भएका छन् । चलचित्रको कुल ग्रस कलेक्सनबाट कर, हल र अन्य खर्च कटाउँदा निर्माताको हातमा बढीमा १ लाख रुपैयाँ मात्र पर्ने देखिन्छ । जबकि, निर्माण पक्षले चलचित्रको लागत १ करोड रुपैयाँभन्दा माथि रहेको दाबी गर्दै आएको थियो । लगानी र आम्दानीको यो खाडलले निर्मातालाई ठूलो आर्थिक क्षति पुर्‍याएको छ ।

यस चलचित्रले सुरुवाती दिनदेखि नै दर्शक तान्न सकेको थिएन । अपेक्षित व्यापार हुन नसकेपछि देशका अधिकांश हलहरूले आइतबारदेखि नै चलचित्रलाई उतारेका छन् । दोस्रो सातामा आइपुग्दा यो चलचित्रको देशव्यापी शो संख्या घटेर मात्र एकमा खुम्चिएको छ ।

चलचित्र ‘लालिमा’ले समाजमा दबिएर रहेका यौनकर्मीहरूको समस्या, उनीहरूले भोग्नुपर्ने पीडा र उनीहरूको मानसिक अवस्थालाई मुख्य विषयवस्तु बनाएको थियो । गम्भीर र संवेदनशील विषयमा बनेको भए तापनि फितलो प्रचारप्रसारका कारणले गर्दा दर्शकहरू हलसम्म आकर्षित हुन सकेनन् ।

फेथ आस्थाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा रोश्नी कार्की, जीवन भट्टराई, उषा रजक र शिशिर बाङ्देलले मुख्य भूमिका निर्वाह गरेका छन् । यस्तै सुश्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

रिलिजको ९ दिन बितिसक्दा पनि चलचित्रले न्यूनतम लगानीको छेउछाउ समेत पुग्न नसक्ने व्यापार गरेपछि ‘डिजास्टर’ बनेको छ ।