पलले निर्माण गर्न लागेको चलचित्रमा निर्देशक फेरिए

काठमाडौं । अभिनेता पल शाहले निर्माण गर्न लागेको चलचित्र ‘यानीमाया’मा निर्देशक फेरबदल भएका छन् । चलचित्र घोषणा भएको करिब ६ महिनापछि आन्तरिक मतभेदका कारण निर्देशक परिवर्तन भएका हुन् ।

घोषणादेखि नै जोडिएका निर्देशक विकास सुवेदी प्रोजेक्टबाट बाहिरिएका छन् भने उनको स्थानमा निर्देशक ओम प्रतीकको प्रवेश भएको छ ।

गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर चलचित्र ‘यानीमाया’को औपचारिक निर्माण घोषणा गरिएको थियो । सो समयमा सुवेदीलाई निर्देशकको रूपमा सार्वजनिक गरिएको थियो ।

घोषणा भएको एक वर्षसम्म पनि चलचित्र सुटिङमा जान सकेको थिएन । चलचित्रको पूर्व-तयारीका लागि साउन महिनामा अभिनेता शाह, निर्देशक सुवेदीसहितको टोली छायांकन स्थल हेर्न बागलुङको ढोरपाटन समेत पुगेको थियो ।

तर, छायांकनमा जाने अन्तिम तयारी भइरहँदा निर्माण टिमबीच कुरा नमिल्दा चलचित्र निर्माण हुने/नहुने अनिश्चित भएको थियो ।

निर्मातामध्येका एक र निर्देशक (विकास सुवेदी) बीच चलचित्रको विषयवस्तु वा कार्यशैलीलाई लिएर आन्तरिक मतभेद उत्पन्न भयो । जसका कारण केही समयका लागि चलचित्रको सम्पूर्ण काम ठप्प भएको थियो । अन्ततः दुवै पक्षले सहकार्यलाई निरन्तरता नदिने निर्णय गरेपछि सुवेदी चलचित्रबाट बाहिरिएका हुन् ।

सुवेदी बाहिरिएसँगै अभिनेता शाहले आफू अभिनीत ‘मोहर’का निर्देशक ओम प्रतीकलाई ‘यानीमाया’को निर्देशन सुम्पिएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा पलसँग कागजी सम्झौता गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै ओमले आफू ‘यानीमाया’को निर्देशकको रूपमा अनुबन्धित भएको जानकारी दिएका हुन् ।

अभिनेता पलका पछिल्लो समय रिलिज भएका तीन चलचित्रमध्ये ‘पूजार सार्की’ सुपरहिट हुँदा ‘रावायण’ र ‘मायावी’ भने बक्स अफिसमा असफल हुँदा निर्देशक ओमले नै पउनलाई ‘मोहर’ मार्फत व्यावसायिक सफलता हात लगाएका थिए ।

निर्देशक परिवर्तन भएसँगै चलचित्रको कास्टिङमा पनि फेरबदल हुनसक्ने चर्चा सुरु भएको छ । यसअघि निर्देशक विकास सुवेदीले अडिसनमार्फत मोडल अञ्जना पुन मगरलाई पलको जोडी (मुख्य अभिनेत्री) को रूपमा छनोट गरेका थिए । तर, अब निर्देशक नै परिवर्तन भएपछि अञ्जना फिल्ममा रहने वा नरहने भन्नेबारे अन्योल सिर्जना भएको छ । तर, यसबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

‘यानीमाया’ अभिनेता पल शाहको आफ्नै ब्यानर ‘पल शाह फिल्म्स’ बाट निर्माण हुन लागेको पहिलो चलचित्र हो । यसअघि आफ्नो कम्पनीबाट थुप्रै म्युजिक भिडियोहरू निर्माण गरिसकेका पल अब निरन्तर चलचित्र निर्माणमा लाग्ने योजनामा छन् । यो चलचित्रमा चन्द्रज्योति आलेले पनि निर्माताको रूपमा पललाई साथ दिएकी छिन् ।

निर्देशक परिवर्तन भएसँगै फिल्मको पटकथा र प्रि-प्रोडक्सनमा नयाँ ढंगले काम सुरु हुने बताइएको छ । अब चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने कुरा नयाँ निर्देशक र पल शाहको कार्ययोजनामा निर्भर रहने देखिएको।