‘आ बाट आमा-२’को छायांकन वैशाखबाट सुरु हुने, को-को कलाकार दोहोरिँदैछन् ?

काठमाडौं । चलचित्र ‘आ बाट आमा’को सफलतापछि निर्माण टोलीले यसको दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा गरिसकेको छ ।

अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर गत फागुनमा एक पोस्टरमार्फत ‘आ बाट आमा २’को निर्माण घोषणा गरिएको थियो ।

दोस्रो श्रृंखला निर्माणको तयारी भएसँगै अब यसका निर्देशक चन्द्र पन्त कलाकारहरू अनुबन्धित गर्ने प्रक्रियामा जुटेका छन् । दोस्रो भागमा पनि कथाको मूल मर्मलाई निरन्तरता दिँदै केही नयाँ र फरक स्वाद पस्कने तयारीमा निर्माण पक्ष छ ।

‘आ बाट आमा २’ को मुख्य भूमिकाका लागि अभिनेता पल र अभिनेत्री विपना थापा अनुबन्धित भएका छन् । सोमबार निर्माण पक्ष र कलाकारबीच औपचारिक सम्झौता भएको हो ।

पहिलो भागमा आमा र छोराको भूमिकामा देखिएका विपना थापा र पल शाहको अभिनयलाई दर्शकले निकै रुचाएका थिए । निर्देशक चन्द्र पन्तले चलचित्रको मुख्य आकर्षण र खम्बाका रूपमा रहेका यी दुई कलाकारलाई दोस्रो भागमा पनि निरन्तरता दिने निर्णय गरेका छन् ।

दोस्रो श्रृंखलामा अनुबन्धित भएपछि अभिनेता पलले निर्देशक पन्तसँगको आफ्नो सम्बन्धलाई लिएर खुसी व्यक्त गरे । उनले भने, ‘म थोरै टिमसँग मात्र नजिक भएर काम गर्छु । चन्द्र दाई मेरो लागि निर्देशक मात्र नभएर अभिभावक जस्तै हुनुहुन्छ । उहाँले मलाई विश्वास गरेर पुनः मौका दिनुभएकोमा म आभारी छु ।’

यस्तै, अभिनेत्री विपना थापाले दोस्रो भागमा काम गर्दा थप जिम्मेवारी महसुस भएको बताइन् । ‘पहिलो भागले राम्रो छाप छोडेको छ, त्यसैले दोस्रो भागलाई त्योभन्दा उत्कृष्ट बनाउनुपर्ने चुनौती हामीसामु छ,’ उनले भनिन् ।

‘आ बाट आमा २’लाई आगामी वर्षको दशैंलाई प्रदर्शन मिति लक्षित गर्दै निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशक पन्तले जानकारी दिए । उनले भने, ‘हामीले अहिले मुख्य दुई कलाकारलाई फाइनल गरेका छौं । वैशाखमा छायांकन सुरु गरेर दशैंमा दर्शकमाझ ल्याउने हाम्रो लक्ष्य छ ।’

आगामी नयाँ वर्ष अर्थात् वैशाख महिनाबाट चलचित्रको छायांकन सुरु गर्ने तालिका तय गरेको ‘आ बाट आमा २’ को प्रि-प्रोडक्सनको काम धमाधम भइरहेको टिमको भनाइ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको पहिलो भागमा विपना र पलका अलावा भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।

पहिलो श्रृंखलामा अभिनय गरेका अन्य दुई अभिनेत्रीहरू उषा उप्रेती र सिम्रन पन्त दोस्रो भागमा दोहोरिने वा नदोहोरिने भन्ने विषयमा भने निर्माण पक्षले अहिले नै केही खुलाउन चाहेको छैन ।

निर्देशक पन्तका अनुसार चलचित्रको कथाको आवश्यकता अनुसार अन्य कलाकारहरूको चयन गरिने र यसबारे जानकारी बिस्तारै दिइने बताए ।