हलमा ‘धुरन्धर २’को प्रभावकाबीच ‘हामी तीन भाइ’को बुकिङ खुल्यो
काठमाडौं । नेपाली सिनेमा बजारमा यतिबेला भारतीय चलचित्रको अभूतपूर्व प्रभाव देखिएको छ । भारतीय चलचित्र ‘धुरन्धर: द रिभेन्ज’ ले नेपाली हलहरूमा कब्जा जमाइरहेका बेला नेपाली चलचित्र ‘हामी तीन भाइ’ यही शुक्रबार (चैत १३ गते) बाट प्रदर्शनमा आउने तयारीमा छ ।
चुनौतीपूर्ण बक्स अफिस माहौलकाबीच यो चलचित्रको बुधबारदेखि देशभरका सिनेमा हलहरूमा अग्रिम टिकट बुकिङ खुलेको छ । तर, विदेशी चलचित्रको चर्को क्रेजका कारण नेपाली चलचित्रले हलमा पर्याप्त स्थान पाउन नसकेको देखिएको छ ।
नेपालका सिनेमा हलहरूमा ‘धुरन्धर २’ को प्रभाव यति शक्तिशाली छ कि काठमाडौंका कतिपय हलहरूले दर्शकको चाप थेग्न दैनिक २० देखि २२ घण्टासम्म शोहरू चलाइरहेका छन् । आउँदो शनिबारका लागि समेत अधिकांश टिकटहरू अहिले नै सुरक्षित भइसकेका छन् ।
यसैको चेपुवामा ‘हामी तीन भाइ’ परेको छ । यो चलचित्रले हालसम्म देशव्यापी रूपमा मात्र १२ शो प्राप्त गरेको छ । केही हलहरूमा अझै बुकिङ खुल्न बाँकी रहे पनि ठूला मल्टीप्लेक्सहरूमा विदेशी फिल्मकै वर्चस्व कायम छ ।
मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको ‘हामी तीन भाइ’लाई केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) ले ‘युनिभर्सल सर्टिफिकेट’ (यू) प्रदान गरेको छ । यसको अर्थ यो चलचित्र अब सबै उमेर समूहका दर्शकले आफ्नो परिवारका सदस्यहरूसँग बसेर हेर्न पाउनेछन् ।
१३७ मिनेट लामो यो चलचित्र पूर्ण रूपमा सामाजिक र कमेडी जनरामा आधारित छ ।
चलचित्रले विशेषगरी तीन दाजुभाइबीचको भावनात्मक सम्बन्ध, उनीहरूबीच उत्पन्न हुने उतारचढाव, मनमुटाव र पारिवारिक एकताको कथालाई उठान गरेको छ ।
चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत र फलित राई मुख्य भूमिकामा छन् भने राजाराम पौडेल, रविन्द्र झा, र विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ, शुष्मा निरौला, यादव देवकोटा (सरापे), भूमिका गिरी लगायतका कलाकारहरूको पनि अभिनय छ ।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले लगानी गरेका छन् । विक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्मको पटकथा तथा संवाद चर्चित लेखक शिवम् अधिकारीले तयार पारेका हुन् । शिव ढकालको छायांकन र बनिश शाहको सम्पादन रहेको यो चलचित्रलाई साजित महतले प्रस्तुत गरेका हुन् ।
शो सङ्ख्या न्यून भए पनि निर्देशक मधुसुदन भट्टराई भने चलचित्रको विषयवस्तुप्रति ढुक्क देखिन्छन् । उनी भन्छन्, ‘हाम्रो फिल्मले मनोरञ्जन मात्र दिँदैन, एउटा बलियो सामाजिक सन्देश पनि बोकेको छ । दर्शकहरूले नेपाली मौलिक कथालाई माया गर्नेमा हामी उत्साहित छौँ ।’
‘धुरन्धर २’ले प्रभाव जमाइरहेको बेला ‘हामी तीन भाइ’ ले कस्तो व्यापारिक फड्को मार्ला ? त्यो भने चैत १३ गतेको प्रदर्शन र दर्शकको ‘वर्ड अफ माउथ’ मा निर्भर रहनेछ ।

