बिराजसँग बदला लिन सक्छन् निखिल ?

काठमाडौं । विराज भट्ट दोस्रो प्रयासमा नेपाली चलचित्रमा कमब्याक गर्न सफल भए । चलचित्र ‘साङ्लो’मार्फत कमब्याकको प्रयास गरे पनि उनी त्यसमा असफल भए ।

तर, ‘१२ गाउँ’मार्फत उनले नेपाली चलचित्र उद्योगमा दमदार कमब्याक गरे । यो सिनेमा मार्फत विराज कलाकारका रुपमा मात्रै कमब्याक गरेनन्, निर्देशकका रुपमा पनि आफूलाई प्रमाणित गरे ।

‘१२ गाउँ’ चल्दा विराजभन्दा पनि उनका छोरा समीरको चर्चा बढी भयो । चलचित्र चल्नुको कारण पनि समीर नै भएको बताइयो ।

तर, ‘१२ गाउँ’को भन्दा बढी चर्चा र हाइप भएको ‘बलिदान’ भने खासै सफल हुन सकेन । यसको मुख्य भूमिकामा समीर थिए । तर, ‘१२ गाउँ’मा केन्द्रीय चरित्रमा समीर नभएर विराज थिए । त्यसैले अहिले समीरभन्दा पनि बिराज चलेका त होइनन् भन्ने प्रश्न गर्ने ठाउँ जन्मिएको छ ।

यही मेसोमा अब आउँदैछन्, निखिल उप्रेती । निखिल र विराज कुनै समयका एक्सन स्टारका रुपमा प्रतिस्पर्धी हुन् । विराजको प्रवेश भएपछि निखिल विस्तारै सिनेमामा पातलिँदै गएका थिए ।

अहिले बिराजको एक्सन सिनेमा चलिरहेका बेला निखिल आउँदैछन् । बिराजको एक्सन सिनेमा ‘राम नाम सत्य’ चल्ने तयारीमा रहेका बेला निखिल आफ्नै चालचित्र ‘आचार्य’ लिएर आउँदै छन् । यो चलचित्रमा भारतको डुवर्समा सुटिङ गरिएको छ । ‘आचार्य’मा भारतीय कलाकार र प्राविधिकसमेत रहेका छन् ।

यो सिनेमाले नेपाली चलचित्र उद्योगमा एक्सनमा नयाँ ट्रेन्ड सेट गर्ने निखिलले बताउँदै आएका छन् । एक्सन कस्तो हुने रहेछ भनेर दर्शकले ‘आचार्य’मार्फत अनुभव गर्ने उनको भनाइ छ ।

यही समय निखिल ‘कस्तुरी’को पनि छायांकनमा छन् । यसमा पनि उनको एक्सन रहने बताइएको छ । विराजले आफूलाई कमब्याक गराइसकेको अवस्थामा निखिलले के गर्छन्, त्यो हेर्न बाँकी छ । एक्सनमा आफूलाई दोस्रोपटक विराजले स्थापित गराउँदा निखिलले सक्छन् कि सक्दैनन् भन्ने प्रश्न अहिले उठिरहेको छ ।

विराजजस्तै निखिल पनि ‘आचार्य’ र ‘कस्तुरी’पछि डिमान्डेड बन्न सक्लान् अथवा उनको यो प्रयास असफल हुनेछ । अथवा जसरी निखिलको ठाउँ कुनै समय विराजले लिएका थिए, त्यस्तै अहिले विराजको ठाउँ निखिलले त लिने होइनन् ? कतै पहिला आफूलाई पाखा लगाएको बदला अहिले निखिलले लिने त होइनन् ? यो हेर्न पनि ‘आचार्य’ र ‘कस्तुरी’को रिलिजसम्म कुर्नै पर्नेछ ।