तीन दशकपछि पुनः बन्दै ‘बेहुली’, दिब्या र पारसको जोडी
काठमाडौं । तीन दशकअघि निर्माण भएको नेपाली चलचित्र ‘बेहुली’ शीर्षकमै पुनः सिनेमा निर्माण हुने भएको छ ।
‘दि डिभाइन म्यूजिक’ र ‘सम्मान इन्टरटेनमेन्ट’को संयुक्त ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘बेहुली’ को बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै शुभमुहूर्त गर्दै छायांकनको औपचारिक घोषणा गरिएको हो ।
सशान कँडेलको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रमा ‘होस्टेल ३’ बाटै डेब्यु गरेका पारस बम ठकुरी (कुलब्वाय) ले प्रमुख भूमिका निर्वाह गर्दैछन् भने जोडीको रूपमा अभिनेत्री दिब्या रायमाझी देखिनेछिन् । यी दुईले पहिलो पटक सहकार्य गर्न लागेका हुन् ।
चलचित्रमा दिब्या र पारसका साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । सुशान्तले यही चलचित्रबाट ५ वर्षपछि अभिनयमा पुनरागमन गर्दै छन् ।
यस चलचित्रलाई ‘होस्टेल ३’का निर्देशक सशान कँडेलले निर्देशन गर्नेछन् । यो उनको दोस्रो निर्देशकीय सिनेमा हो । उनले यस वर्ष ‘होस्टेल अगेन’ र ‘बाउ भर्सेस छोरा’को पनि निर्माण घोषणा गरेका थिए । तर, उनले तत्कालका लागि दुवै चलचित्रलाई पछाडि सार्दै पहिला ‘बेहुली’ बनाउन लागेका हुन् ।
चलचित्र ‘बेहुली’को कथा माधव शर्माले लेखेका हुन् । उनले यसअघि ‘होस्टेल ३’को पनि स्क्रिप्ट लेखेका थिए ।
चलचित्रको प्रस्तुतकर्तामा संगीतकार तथा गायक अर्जुन पोखरेल रहेका छन् । दुई दशकदेखि गीतसंगीत क्षेत्रमा सक्रिय उनी यही सिनेमामार्फत निर्माणमा होमिएका हुन् । चलचित्रका लागि गीतहरू उनी आफैंले तयार गर्नेछन् ।
प्रताप राणा निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता सुमन थिङ तामाङ हुन् । दुर्गा खरेल र रमेश सिलवाल सह-निर्मातामा रहेका छन् भने शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन् ।
नरेन्द्र मैनालीको छायांकन (डीओपी) रहने यस चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, विकास दाहालको सम्पादन रहनेछ ।
विगतमा वि.सं. २०५० को दशकमा शम्भु प्रधानको निर्देशनमा चलचित्र ‘बेहुली’ निर्माण भएको थियो । जसमा प्रकाश अधिकारी, सुनिता, सुभद्रा अधिकारी, जितेन्द्र महत, दीपा न्यौपाने, विष्णु श्रेष्ठ, माया प्रधानको मुख्य भूमिका थियो । उक्त चलचित्रको गीत ‘माया के होला…’ आज पनि दर्शकको मानसपटलमा ताजा छ ।
अहिले निर्माण हुन लागेको ‘बेहुली’ पुरानो चलचित्रको रिमेक हो वा केवल शीर्षक मात्र सापटी लिइएको हो भन्नेबारे निर्माण पक्षले स्पष्ट पारेको छैन । तर, नेपाली समाजमा विवाह र ‘बेहुली’को भावनात्मक सम्बन्धलाई नै यो चलचित्रले पनि मुख्य विषयवस्तु बनाउने अनुमान गरिएको छ ।
जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर आगामी भदौ १२ गते प्रदर्शनमा ल्याउने निर्माण टोलीको लक्ष्य रहेको छ ।


