चलचित्र ‘आइएम जितबहादुर’ को फर्स्टलुक टिजर सार्वजनिक

काठमाडौं । हास्य कलाकारको रुपमा दर्शकमाझ लोकप्रिय अभिनेता जितु नेपाल (मुन्द्रे) अब एउटा गम्भीर र संघर्षपूर्ण भूमिकामा देखिने भएका छन् ।

उनकै निर्माण र मुख्य अभिनय रहेको चलचित्र ‘आइएम जितबहादुर’ को पहिलो झलक अर्थात् ‘फर्स्टलुक टिजर’ सार्वजनिक गरिएको छ ।

ग्राफिक्सको उत्कृष्ट प्रयोग गर्दै जितुलाई फरक-फरक भावमा प्रस्तुत गरिएको सार्वजनिक टिजरले चलचित्रको कथावस्तु र प्रमुख पात्रको चरित्रबारे संकेत दिएको छ ।

टिजरमा कहिले घाइते अवस्थामा रगताम्मे अनुहार त कहिले गहिरो पीडा र छटपटीमा देखिएका जितुको यो रुप उनका अघिल्ला चलचित्रभन्दा निकै भिन्न र चुनौतीपूर्ण देखिएको छ ।

चलचित्रले कलाकार बन्ने ठूलो सपना बोकेर गाउँबाट सहर छिरेको एक साधारण युवाको जीवनकथालाई समेटेको छ । सहरमा एउटा कलाकारका रुपमा स्थापित हुन उसले भोग्नुपर्ने तिरस्कार, मानसिक तनाव र अनवरत संघर्षलाई निर्देशकले पर्दामा उतारेका छन् ।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषले यस चलचित्रको निर्देशन गरेका हुन् । जितु नेपालका साथमा चलचित्रमा बर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल लगायतका कलाकारहरूलाई प्रमुख भूमिकामा देख्न सकिने निर्माण पक्षले जनाएको छ ।

चलचित्र ‘आइएम जितबहादुर’मा जितुको जोडी वर्षासँग बाँधिएको छ ।

‘कर्मभूमि क्रिएशन’को ब्यानरमा निर्माण भएको यस चलचित्रमा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताका रुपमा रहेका छन् । निर्माताका रुपमा जितु नेपाललाई राजन सिंखडा र दीपेन्द्र अधिकारीले साथ दिएका छन् । भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेको यो चलचित्रको दृश्य भाषामा निकै स्तरीय देखिएको छ ।

औपचारिक घोषणा हुन बाँकी रहे पनि यो चलचित्र आगामी वर्षको असार ५ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।