‘हामी तीन भाइ’को चीरहरण

काठमाडौं । नामको ब्रान्ड र त्यसले दिने सहजताको फाइदा उठाउन अहिले नेपाल मात्रै होइन, संसारभरका फिल्म मेकर नै लागि परेका छन् । बलिउड होस् वा हलिउड, सके सिक्वेल नभए त्यसका पछाडि २/३/४ हुँदै चलेसम्म सिनेमा बनाउने लहर नै चलेको छ ।

बाहिरको धेरै कुरा किन गर्नु नेपालमै प्रसस्तै उदाहरण हुँदा हुँदै ? ‘लुट’, ‘कबड्डी’, ‘पशुपतिप्रसाद’, ‘नाइँ नभन्नू ल’, ‘ए मेरो हजुर’, ‘होस्टेल’, ‘छक्का पञ्जा’, ‘चपलीहाइट’, ‘जात्रा’लगायत थुप्रै चलचित्रका सिक्वेल र सिरिज बनेका छन् ।

‘कबड्डी’, ‘नाइँ नभन्नू ल’, ‘छक्का पञ्जा’लगायत चलचित्रले सिक्वेल र सिरिजका नाममा राम्रै बिजनेस गरे । त्यसैले कुनै समय चलेको चलचित्रको नाम लिएर चलचित्र बनाउने अहिले होडबाजी नै चलेको छ । एकजना तामाङ थरका निर्देशकले त आधा दर्जन पुराना चलचित्रको नाम आफ्नो कम्पनीका नाममा दर्ता गरेर राखेका चलचित्र विकास बोर्डको चलचित्र दर्ता शाखाको तथ्यांकले देखाउँछ ।

अब लागौैँ, गुह्य विषयतर्फ । कुनै समय चलेको चलचित्रको नाम सापटी लिएर नयाँ सिनेमा बनाउँदैमा चल्छ भन्ने छैन । किनकी चलचित्र चल्न नाम होइन, त्यसभित्र गुदी चाहिन्छ । केही समयअगाडि रिलिज भएको ‘माइती घर’ नै हेरौँ न चल्यो त ? चलेन ।

यसलाई पुष्टि गर्न अर्को चलचित्र पनि थपिएको छ, ‘हामी तीन भाइ’ । शुक्रबार रिलिज भएको यो चलचित्र बक्सअफिसमा नराम्रोसँग पछि पर्‍यो । जबकी यसअघिको ‘हामी तीन भाइ’ लोकप्रिय सिनेमा हो । नेपालको सेल्युलाइडको जमानाका सीमित चलचित्रमध्ये यो पनि पर्छ ।

बक्सअफिसमा पनि सफल सिनेमा थियो, ‘हामी तीन भाइ’ । राजेश हमाल, निखिल उप्रेती र श्रीकृष्ण श्रेष्ठको यो सिनेमाले नेपाली सिने नगरीमा आफूलाई उत्कृष्ठ चलचित्र सावित गरेको थियो ।

तर, अहिलेको ‘हामी तीन भाइ’ सुरुदेखि नै चुक्दै गयो । सुरुको ‘हामी तीन भाइ’मा तत्कालीन नेपाली सिनेमाका हस्ती राजेश, निखिल र श्रीकृष्ण जस्ता कलाकार कास्टिङ गरिएका थिए । तर, यो पटक कास्टिङमै यो सिनेमा चुक्यो ।

राजेश, निखिल र श्रीकृष्ण कास्टिङ गरिनु भनेको अहिलेको समयमा अनमोल केसी, प्रदीप खड्का र दयाहाङ राईजस्ता कलाकारलाई अभिनय गराउनु हो । तर, यो पटकको ‘हामी तीन भाइ’मा त्यो मेहनत स्टारकास्टमा नै देखिएन ।

हुत त स्टारकास्ट हुन बित्तिकै सिनेमा चल्छ भन्ने होइन । तर, लिगेसीको ब्याज खाने हो भने त्यसलाई निरन्तरता पनि त दिनुपर्छ होला । पहिलाको सिनेमा जे बिक्री भएको थियो, त्यही बिक्री गर्ने प्रयास त कम्तीमा हुनुपर्‍यो ।

प्रयास गरेर पनि सफल नहुनु बेग्लै कुरा, प्रयास नै नगरी सफलता त कहाँ पाइन्छ र ? गाह्रै पर्छ, जुन देखियो पनि ।

त्यसमा पनि बलिउडका सम्पूर्ण रेकर्ड भत्काउँदै अगाडि बढिरहेको ‘धुरन्धरः द रिभेन्ज’सँग भिडेपछि के हुन्छ हालत ? जे भयो, त्यो ‘धुरन्धर’का अगाडि स्वभाविक थियो । किनकी एउटै पोखरीमा ठूला र साना माछा हुर्किंदैनन् । ठूला माछाले साना माछालाई आफ्नो आहारा बनाउँछन् । आफ्नो सिनेमामा विश्वास त गर्नुपर्छ । तर, तथ्यका आधारमा मूल्यांकन गरेर । आत्मरतिमा मात्रै रमाउँदा चाहिँ हालत यस्तै हुन्छ ।

एकातिर पब्लिसिटी कन्टेन्ट नै कमजोर भएर गुमनाम बनेको सिनेमा, अर्कोतिर बलिउडको जाइन्ट सिनेमा ‘धुरन्धर २’सँगको भिडन्त । कसरी जोगिन्थ्यो र अस्तित्व ? जोगिएन । पहिलो ‘हामी तीन भाइ’को दोस्रो ‘हामी हामी तीन भाइ’ले चीरहरण गर्‍यो भन्दा फरक पर्दैन । अब कसैले कुनै बेला चलेको सिनेमाको नाम लिएर दर्शक झुक्याउँछु भनेर सोचिरहेको छ भने, अहिले नै त्यो सोच त्यागे अर्थ र समय दुवैको बचत होला ।