‘माग्ने बुढा’ को तिखो व्यङ्ग्य: यस्तै पाराले पक्राउ पर्दै गए अरु पार्टीमा सुदन गुरुङकै उमेरका मात्र रहलान्

काठमाडौं । चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले देशको पछिल्लो राजनीतिक घटनाक्रम र उच्च पदस्थ नेताहरूको पक्राउ प्रकरणलाई लिएर सामाजिक सञ्जालमार्फत तिखो कटाक्ष गरेका छन् ।

आफ्नो छुट्टै शैलीमा समसामयिक विषयमा टिप्पणी गर्न सिपालु घिमिरेले ठूला नेताहरू धमाधम अनुसन्धानको घेरामा परेपछि राजनीतिक भविष्य र पुस्तान्तरणको विषयलाई जोडेर व्यङ्ग्य गरेका हुन् ।

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र मन्त्रीहरूसमेत अनुसन्धान र पक्राउको प्रक्रियामा पर्न सक्ने चर्चा चुलिएका बेला घिमिरेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एवम् रितले पक्राउ गर्दै जाने हो भने त अरु पार्टीमा पनि सुदनकै उमेरका मात्र बाँकी रहलान् जस्तो भो त सोल्टी ।’

उनको यो स्टाटसले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । यहाँ उनले ‘सुदन’ भन्नाले नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई संकेत गरेका हुन्, जो स्थापित नेताहरूमध्ये तुलनात्मक रूपमा सामाजिक अभियन्ताबाट राजनीतिमा फड्को मारेका कान्छो पुस्ताका मानिन्छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३८ वर्षको उमेरमा मन्त्री बनेका हुन् ।

घिमिरेको टिप्पणीले एकातिर भ्रष्टाचार र विभिन्न काण्डमा पुराना र पाका नेताहरूको संलग्नतालाई संकेत गरेको छ भने अर्कोतिर यदि कारबाहीको यो प्रक्रिया निष्पक्ष रूपमा अघि बढ्ने हो भने पुराना प्रायः सबै नेताहरू जेल पर्ने र पार्टीहरूमा केवल युवा पुस्ता मात्र बाँकी रहने स्थिति आउन सक्ने कुरालाई रोचक ढङ्गले प्रस्तुत गरेको छ ।

विशेषगरी भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी र अन्य सरकारी जग्गा हिनामिना जस्ता ठूला फाइलहरू खुल्दै जाँदा शीर्ष नेताहरूको नाम जोडिन थालेपछि आम नागरिकमा एक खालको संशय र कौतुहलता छ । त्यही जनभावनालाई ‘माग्ने बुढा’ ले आफ्नो ‘सिग्नेचर’ शैलीमा अभिव्यक्त गरेका हुन् ।

घिमिरेको यो स्टाटस सार्वजनिक भएसँगै प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । उनका समर्थकहरूले ‘यथार्थपरक व्यङ्ग्य’ भन्दै समर्थन जनाएका छन् भने केहीले यसलाई हल्का शैलीको कटाक्षका रूपमा व्याख्या गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘माग्ने बुढाले ठट्टाकै शैलीमा भए पनि देशको तितो यथार्थ बोलेका छन् ।’ अर्का प्रयोगकर्ताले भने राजनीतिक शुद्धीकरणका लागि यो प्रक्रिया आवश्यक रहेको तर्क गरेका छन् ।

पछिल्लो समय सत्ता समीकरण फेरबदल भएसँगै पुराना फाइलहरू खुल्ने र नेताहरू पक्राउ पर्ने क्रमले तीव्रता पाएको छ । कलाकारहरूले पनि सामाजिक सञ्जालमार्फत राजनीति र बेथितिविरुद्ध बोल्दै आएका छन् ।