गुपचुप आफैँ चलचित्र निर्माण गर्दै प्रियंका, केही दिनदेखि धमाधम छायांकन

काठमाडौं । अभिनेत्री प्रियंका कार्की पनि चलचित्र निर्माणमा होमिएकी छन् ।

अभिनेत्री कार्की र अभिनेता आयुष्मान देशराज जोशीको लगानी रहेको चलचित्रको १३ गतेदेखिबाट छायांकन भइरहेको छ ।

आफ्नै प्रोडक्सन हाउस ‘आयंका फिल्म्स’ को ब्यानरमा चलचित्र निर्माण सुरु भइसकेको चलचित्रको नाम रहेको छ, ‘मास्टर्नी’ ।

यस चलचित्रलाई निर्देशन गरिरहेका छन् भारतका बंगाली निर्देशक सुभेन्दु घोषले । घोष तिनै निर्देशक हुन्, जसले जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘जीतबहादुर’ निर्देशन गरेका छन् । यो चलचित्रको केही दिन अगाडि मात्रै टिजर सार्वजनिक भएको थियो ।

चलचित्र ‘मास्टर्नी’मा प्रियंका कार्कीसँगै आयुषमान देशराज जोशी, आर्यन सिक्देल, प्रमोद अग्रहरिलगायत कलाकार मुख्य भूमिकामा रहेमा छन् ।

यो चलचित्रबारे प्रियंकाले आधिकारिक रुपमा केही जानकारी दिएकी छैनन् । उनले गुपचुप रुपमा छायांकन सुरु गरेकी हुन् ।

चलचित्रको कथा कसको हो, अरु कलाकार को छन्, कहिले रिलिज हो यसबारे प्रियंकाले केही पनि जानकारी दिएकी छैनन् ।