चलचित्र ‘पार्वती’को प्रदर्शन मिति तय, मुख्य भूमिकामा नीता र अशोक

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशनमा बन्न लागेको चलचित्र ‘पार्वती’को प्रदर्शन मिति तय गरिएको छ ।

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको निर्माण टिमले जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर आउँदो वर्षको भदौ १२ गते रिलिज हुने जानकारी दिएको हो ।

आइतबार निर्माता कम्पनी नीता फिल्म्सले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रमा बाल गायक अशोक दर्जीको मुख्य भूमिका रहने जनाएको छ । नीता र अशोकले यसअघि चलचित्र ‘मन बिनाको धन’मा सँगै काम गरेका थिए ।

भदौ १२ लाई रिलिज मिति रोज्नु बारे नीताले भनिन्, ‘हामी यहीँ चैत २४ गतेबाट फिल्मको छायांकनमा निस्किदैछौँ । र हामीले वितरक तथा सबैसँगको सल्लाह अनुसार फिल्मलाई आगामी भदौ १२ गतेबाट रिलिज गर्ने घोषणाको तयारीमा पनि छौँ ।’

यस चलचित्रमा नीता र अशोकका अलावा दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको चलचित्रको संवाद शिवम् अधिकारीले तयार पारेका हुन् ।

बुझिए अनुसार यस चलचित्रमा नीता ‘अटिजम’ भएको युवतीको भूमिकामा देखिनेछिन् । चलचित्रबारे उनी भन्छिन्,‘यो हास्य, भावना र सामाजिक सन्देश मिसिएको मनछुने कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ ।’ 

सुदिप बरालको डिओपी रहेको यस चलचित्रमा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन् । सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन् । उनी पहिलो पटक यस चलचित्रमा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन् ।

यस चलचित्रमा प्रोडक्सनको काम शंकर पाण्डेले हेर्दैछन् । चलचित्रमा उनी नै कार्यकारी निर्माता पनि छन् । चलचित्रमा साहिल खानको सम्पादन रहने छ ।

यो चलचित्र यही चैत २४ गतेबाट छायांकनमा निस्किने तयारीमा रहेको छ । भदौ १२ गते रक्षाबन्धनको सार्वजनिक बिदा परेकाले यो मितिलाई चलचित्र प्रदर्शनका लागि निकै सुखद मानिन्छ । यद्यपि, यही मितिमा अर्को चलचित्र ‘बेहुली’ ले पनि आफ्नो रिलिज घोषणा गरिसकेको छ ।