‘आ बाट आमा २’ मा आकाश श्रेष्ठको इन्ट्री, पल र विपनासँगै देखिने
काठमाडौं । चलचित्र ‘आ बाट आमा’को सफलतापछि निर्माण टोलीले यसको दोस्रो श्रृंखला निर्माण तयारी गरिहेको छ ।
दोस्रो श्रृंखला निर्माणको तयारी भएसँगै अब यसका निर्देशक चन्द्र पन्त कलाकारहरू अनुबन्धित गर्ने प्रक्रिया निरन्तरता दिइरहेका छन् ।
दोस्रो भागमा पनि कथाको मूल मर्मलाई निरन्तरता दिँदै केही नयाँ र फरक स्वाद पस्कने तयारीमा निर्देशक पन्तले ‘आ बाट आमा २’ मा आकाश श्रेष्ठलाई अनुबन्ध गराएका छन् ।
सोमबार निर्देशक पन्तले आकाशलाई चलचित्रको महत्वपुर्ण भुमिकाका लागि अनुबन्ध गरेको जानकारी दिए । उनले भने, ‘हामीले चलचित्रको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ । यसअघि मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुवन्धित गरिसकेका छौँ ।’
पहिलो श्रृंखलामा आमा र छोराको भूमिकामा देखिएका विपना र पलको अभिनयलाई दर्शकले निकै रुचाएका थिए ।
आगामी नयाँ वर्ष अर्थात् वैशाख महिनाबाट चलचित्रको छायांकन सुरु गर्ने तालिका तय गरेको ‘आ बाट आमा २’ को प्रि-प्रोडक्सनको काम धमाधम भइरहेको टिमको भनाइ ।
चलचित्रको दोस्रो श्रृंखलामा विपना, पल र आकाशबाहेक अरु कलाकार तय भएका छैनन् । पहिलो भागमा सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल लगायतको पनि मुख्य भूमिका रहेको थियो । उनीहरूमध्ये उषा भने दोस्रो भागमा दोहोरिन सक्ने फिल्म निकट स्रोतले जनाएको छ । उनी ‘आ बाट आमा’मा पलको जोडी बनेर देखिएकी थिइन् ।
आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा निर्देशक पन्तले नै लेखेका हुन् ।
‘आ बाट आमा २’ लाई आगामी दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।


