अनमोलको जन्मदिनमा ‘बाटुलो जून’को प्रदर्शन मिति घोषणा, पोस्टरमा देखिए अनमोल र प्रिन्सी
काठमाडौं । चलचित्र ‘बाटुलो जून’को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता अनमोल केसीको जन्मदिनको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो ।
यो चलचित्र आगामी वर्ष २०८३ को दशैंको फुलपातीको छेकोमा असोज ३० गते रिलिज हुने भएको छ ।
अभिनेता भुवन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता अनमोल र अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् ।
भुवनले चलचित्र ‘ड्रिम्स’ पछि निर्देशन गरेको यो दोस्रो सिनेमा हो ।
पूर्णिमाको टहलाउँदो जूनलाई पृष्ठभूमीमा राखिएको सार्वजनिक पोस्टरमा अनमोलले एक हातमा तत्कालिन परिवेशको प्रकाशको प्रतिविम्व राँको बोक्दा अर्को हातले प्रिन्सीको पाउजुसहितको खुट्टा समाएका छन् । यसले चलचित्र मौलिक र ग्रामीण प्रेमकथामा आधारित रहेको संकेत गर्दछ ।
पोस्टर सार्वजनिक गर्दै अनमोलले जन्मदिनमा माया गर्नेहरूको लागि उपहार भन्दै ‘दशैंमा भेटौंला’ सन्देश छोडेका छन् । करियरको सुरूवातदेखि नै दर्शक तथा शुभचिन्तकहरूबाट प्राप्त प्रेमप्रति आभार प्रकट गर्दै अनमोलले ‘आफु सधैं राम्रो काममा ताली र कमजोरीमा खबरदारीको प्रतिक्षामा रहने’ बताए ।
यस चलचित्रको निर्माता जीया केसी र भविष्य खड्का हुन् । ‘चलचित्र हेरिरहँदा दर्शकले आफुलाई ३० वर्ष पहिलेको नेपाली समाजमा पाउनुहुनेछ, साथमा वर्तमानको आभाष उत्तिकै हुनेछ,’ निर्माता केसीले भनिन् । जीवनको कुनै न कुनै समयमा प्रेमको स्पर्श गरेका जुनसुकै वर्गका दर्शकको लागि यो चलचित्र समर्पित छ,’ उनले थपिन् ।
अनमोल विगतका चलचित्रहरूमा देखिँदै आएको भन्दा विल्कुल पृथक अबतारमा प्रस्तुत छन् । चलचित्रमा भुवन आफैपनि प्रमुख भुमिकामा छन् ।
सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको ‘बाटुलो जून’ मा भुवन, अनमोल र प्रिन्सीसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय छ ।
यो चलचित्रलाई काठमाडौ, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिएको छ । चलचित्रमा तेजबिक्रम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।
प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रमा छायांकन राजेश श्रेष्ठको रहेको छ । चलचित्रको करिब १० प्रतिशत छायांकन बाँकी रहेको र यहिँ नयाँवर्ष २०८३ को छेकोमा पोखरामा सेड्यूअल लक गरिएको कार्यकारी निर्माता तेजविक्रम केसीले बताए ।
ठूलो क्यानभासमा निर्माण भइरहेको भनिएको यस चलचित्रको बजेट चलचित्र विकास बोर्डमा भने मात्र २५ लाख रुपैयाँ उल्लेख गरिएको छ ।


