चलचित्र ‘पहाड’को ‘ॐ नम: शिवाय’ सार्वजनिक

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले सोमबार चलचित्रमा समावेश ‘ॐ नम शिवाय’ बोलको नयाँ गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा रञ्जित सिंह गजमेरको सङ्गीत, भारती घिमिरे र शिव परियारको स्वर र निर्देशक तुलसी घिमिरेको शब्द रहेको छ ।

चलचित्रका सबै कलाकारहरू फिचर्ड गरिएको यस गीतमा भगवान शिवको महिमा र सांस्कृतिक रौनकलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

आगामी २०८३ सालको वैशाख १ गतेदेखि प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको यस अघि ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा लगायतलाई देख्न सकिन्छ ।

‘ॐ नम शिवाय’ गीतलाई सिनेमाको कथासँगै जोडिएको र सेट निर्माण गरेर छायांकन गरिएको निर्देशक तुलसी घिमिरेले बताए ।

उनले भने, ‘यो गीत फिल्मका लागि महत्वपूर्ण छ, यो गीतपछि सिनेमाको कथाले नयाँ मोड लिन्छ । हामीले झन्डै १३ दिन लगाएर सेट निर्माण गरेर यो गीतलाई तीन रात खिचेका थियौँ, सिनेमाको महत्वपूर्ण समयमा आउने गीत भएकाले यसमा अधिकाँस कलाकारलाई फिचर्ड गराएका छौँ ।’

निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए । ‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ । यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ’, निर्देशक घिमिरेले भने, ‘ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ ।’

चलचित्र ‘पहाड’मा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् ।

चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका चलचित्रमा सहकार्य गरेका छन् ।

‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र दिवंगत अभिनेता सुनिल थापाको अन्तिम अभिनय रहेको चलचित्रका रूपमा दर्ज भएको छ ।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएकाछन् । यस्तै, चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका निर्माताहरू सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी हुन् । प्रस्तुतकर्तामा उत्तम रसाइली रहेका छन् । चलचित्रमा भारती घिमिरे र शंकर कोइरालाको सम्पादन, रञ्जित गजमेरको संगीत, कविराज गहतराज र मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।

https://youtu.be/hwmO-OsuIgo?t=142