पूर्वपतिले अन्याय गरेको भन्दै सामाजिक सञ्जालमा उषाको आक्रोश, भन्छिन्- नयाँ सरकारले मलाई न्याय दिनुपर्यो
काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले आफूलाई पूर्वपति जीपी तिमल्सिनाले यातना दिएको भन्दै सामाजिक सञ्जालमा दुख पोखेकी छन् ।
उषाले मंगलबार गुनासो व्यक्त गर्दै शृंखलाबद्ध रुपमा आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस हालेपछि उनीहरूबीचको विवाद फेरि एकपटक सार्वजनिक रूपमा छताछुल्ल भएको छ ।
दोस्रो श्रीमती विवाह गरेर एउटै घरमा बस्दै आएका पूर्वपति तथा सञ्चारकर्मी जिपी तिमल्सिनाले गालीगलौज र दुर्व्यवहार गर्ने गरेको उषाको दाबी छ । सम्बन्धविच्छेद भएको दुई वर्ष बितिसक्दा पनि सम्पत्ति र व्यवहारिक असमझदारीका कारण यो विवाद उत्कर्षमा पुगेको देखिएको छ ।
उषाले स्टाटस लेख्दै जीपी तिमल्सिनाकी वर्तमान पत्नीलाई सम्बोधन गरेर कडा आक्रोश पोखेकी छिन् । उनले लेखेकी छिन्, ‘तिम्रो लोग्नेलाई सम्हाल्नुपर्यो । मलाई गाली गर्छ, मेरो जीवनमा हस्तक्षेप गर्दैछ । अब यो ‘एक्स’ भनाउँदोलाई प्रहरी प्रशासन लगाएर शान्ति सुरक्षा नखोजी भएन । साथीहरू, यसले अत्ति नै गर्यो ।’

उनले आफ्नो माइतीबाट आएका सदस्य र साथीभाइलाई समेत जीपीले दुर्व्यवहार गर्ने गरेको आरोप लगाएकी छिन् । ‘मलाई जथाभावी भन्ने, मुख छाड्ने र कोही आउँदा जाँदा डिस्टर्ब गर्ने काम भइरहेको छ,’ उनले अगाडि लेखेकी छिन्, ‘अत्ति भएर आज बोल्दैछु ।’
विवादको मुख्य जड अंशवण्डा र निवास देखिएको छ । उषाले अदालतले आफूलाई पनि अंशवापत सोही घर दिएको दाबी गर्दै सम्पत्तिको बाँडफाँटबारे स्पष्ट पारेकी छिन् । उनले लेखेकी छिन्, ‘यो घरमा ४ जना अंशियार छौँ । मेरो २५ प्रतिशत, छोरीको २५ प्रतिशत र छोराको २५ प्रतिशत गरी कुल ७५ प्रतिशत हक हाम्रो छ । बाँकी २५ प्रतिशत मात्र तिमल्सिनाको हो । अनि कसरी उसले ‘मेरो मात्र घर’ भन्न मिल्छ ?’

उषाले आफूलाई जबरजस्ती घरबाट निकाल्न खोजिएको भन्दै अब प्रतिकार गर्ने चेतावनी दिएकी छिन् । ‘मलाई निस्केर जा भनेर टर्चर दिन्छ यो नार्मदले । अब म निस्किने होइन, तलाई निकाल्ने हो । तैँले सुरु गरिस्, म अन्त्य गर्छु,’ उनले आक्रोश व्यक्त गरेकी छिन् ।

आफू असुरक्षित भएको महसुस गर्दै उषाले राज्यका निकाय र नयाँ सरकारसँग न्यायको अपिल गरेकी छिन् । ‘मेरो अधिकार खोज्न म कता जाने? यो देशमा नियम, कानुन र सुरक्षा छ कि छैन? नयाँ सरकारले मलाई मेरो हक र न्याय दिनुपर्यो,’ उनले फेसबुकमा लेखेकी छिन् ।

उषा खड्गी र जीपी तिमल्सिनाबीच २०७९ जेठ २६ गते काठमाडौँ जिल्ला अदालतबाट कानुनी रूपमा सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद भएको केही महिनामै, अर्थात् २०७९ मंसिर १९ गते, जीपीले प्रेमिका सविना अधिकारीसँग दोस्रो विवाह गरेका थिए ।
सम्बन्धविच्छेद हुँदा अंशवण्डाको पूर्ण टुंगो नलागेका कारण उनीहरू एउटै घरमा फरक-फरक ढंगले बसिरहेको बुझिएको छ । सोमबार मात्र उषाले आफू ‘सिंगल मम’ भएकोमा गर्व लाग्ने भन्दै भावुक स्टाटस लेखेकी थिइन् ।
यस विषयमा जीपी तिमल्सिनाको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन ।


