‘पहाड’को प्रचारमा अरुलाई माइनस गरेर तुलसी घिमिरेले छोरीलाई मात्रै अघि सारेका हुन् ?
काठमाडौं । नयाँ वर्षको छेको पारेर चलचित्र ‘पहाड’ रिलिज हुँदा नेपाली सिनेमा उद्योगमा एक अभिनेत्रीको डेब्यू हुनेछ । ती डेब्यू अभिनेत्रीले दर्शकको मन जिन्छिन् वा जित्न सक्दिनन्, त्यो भोलिको कुरा हो । तर, अभिनेत्रीहरूको भीडमा एकजना थपिनेछिन् ।
र, ती अभिनेत्रीको नाम हो, पञ्चमी घिमिरे । पञ्चमी अरु कोही नभएर लिजेन्ड निर्देशक तथा अभिनेता तुलसी घिमिरेकी छोरी हुन् । तुलसी घिमिरेले आफ्नै निर्देशन रहने चलचित्र ‘पहाड’बाट कान्छी छोरी पञ्चमीलाई नेपाली चलचित्र उद्योेगमा भित्र्याउँदै छन् ।
यतिबेला चलचित्र ‘पहाड’ रिलिजको संघारमा छ । त्यसैले निर्माण टिम सिनेमाको प्रचारमा छ । र, निर्माणपक्षले यतिबेला सिनेमाको प्रचारमा पञ्चमीलाई अगाडि सारिरहेको छ । पञ्चमी मिडियाहरूमा अन्तर्वार्ता दिँदै हिँडिरहेकी छन् ।
पञ्चमी जति सञ्चारमाध्यममा यो समय देखिरहेकी छन्, त्यसको तुलनामा अरु कलाकार देखिएका छैनन् । जबकी यो चलचित्र ‘पहाड’मा प्रचारका लागि अनुहार देखाउने र बिकाउने एक सय एक कलाकार छन् ।
‘पहाड’मा विपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारको अभिनय छ । यी नामले नै सिनेमाको प्रचारका पर्याप्त कलाकार रहेको देखाउँछ । तर, निर्देशक घिमिरेले छोरीलाई अघि सारेका छन् ।
छोरीलाई स्थापित गराउन ‘पहाड’मार्फत घिमिरे सफल होलान् कि नहोलान् त्यो त केही समयपछि थाहा हुने नै छ, तर त्यसका लागि घिमिरेले सक्दो प्रयास भने गरिरहेका छन् ।
तर, सिनेमा कस्तो छ र, उनको अभिनय कस्तो छ, त्यसले मात्रै पञ्चमी स्थापित हुने वा नहुने निर्धारण गर्नेछ ।
तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’ वैशाख १ गतेदेखि प्रदर्शन हुने तयारीमा छ ।
चलचित्र ‘पहाड’मा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताएका छन् ।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका निर्माताहरू सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी हुन् । प्रस्तुतकर्तामा उत्तम रसाइली रहेका छन् ।
चलचित्रमा भारती घिमिरे र शंकर कोइरालाको सम्पादन, रञ्जित गजमेरको संगीत, कविराज गहतराज र मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।


