‘धुरन्धर २’लाई किन लाग्दैछ भाजपा र मोदीको ‘मुखपत्र’ भएको आरोप ? निर्देशकलाई ‘महा-चाटुकार’को संज्ञा

काठमाडौं । भारतीय राजनीति र सिनेमाको सम्बन्ध सधैँ चर्चाको विषय बन्ने गरेको छ । पछिल्लो समय बलिउडमा राजनीतिक एजेन्डा र विचारधारामा आधारित चलचित्रहरूको बाढी नै आएको देखिन्छ । यसै क्रममा बलिउड अभिनेता रणवीर सिंह अभिनीत ‘धुरन्धर : द रिभेन्ज’लाई लिएर अहिले भारतमा बहस सुरु भएको छ ।

रिलिजको पहिलो दिनदेखि नै आक्रामक ओपनिङ गरेको ‘धुरन्धर २’ ले दोस्रो सातासम्म आइपुग्दा भारतीय सिनेमा इतिहासका लगभग सबै ठूला रेकर्डहरू ध्वस्त बनाउँदै नयाँ इतिहास रचेको छ ।

आदित्य धरको निर्देशनमा बनेको यो जासुसी थ्रिलर सिनेमाले अहिले बलिउडको इतिहासमै घरेलु बजारमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ ।

‘धुरन्धर २’ ले बक्स अफिसमा सुनामी ल्याइरहँदा धेरैले यस चलचित्रलाई भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक एजेन्डालाई मलजल गर्ने ‘प्रोपागाण्डा’ वा ‘मुखपत्र’को संज्ञा दिएका छन् ।

चलचित्र ‘धुरन्धर २’ लाई एउटा एक्सन थ्रिलरका रूपमा मात्र हेर्न चाहने एक तप्का भए पनि, यसको भित्री तहमा लुकेको राजनीतिक सन्देशले गर्दा यसलाई भाजपाको मुखपत्र भनिएको छ । आखिर किन भइरहेको छ यस्तो आलोचना ? ।

‘धुरन्धर २’ को कथावस्तु मुख्य रूपमा राष्ट्रवाद र हिन्दुत्वको वरिपरि घुमेको छ । चलचित्रमा देखाइएका संवाद र दृश्यहरूले भाजपाको मुख्य राजनीतिक लाइनलाई समर्थन गरेको देखिन्छ । चलचित्रमा देखाइएका शत्रु पात्रहरू र उनीहरूलाई पराजित गर्ने नायकको शैली मोदी सरकारको ‘नयाँ भारत’को भाष्यसँग मिल्दोजुल्दो रहेको आलोचकहरूको तर्क छ ।

चलचित्रलाई ‘मुखपत्र’ भनिनुको अर्को मुख्य कारण यसले विपक्षी विचारधारा र अल्पसंख्यक समुदायलाई प्रस्तुत गर्ने तरिका हो । चलचित्रमा देखाइएका कतिपय नकारात्मक पात्रहरूको हुलिया र पृष्ठभूमिले कुनै खास समुदाय वा भाजपा विरोधी राजनीतिक शक्तिहरूलाई संकेत गरेको देखिन्छ । यसले समाजमा ध्रुवीकरण बढाउने र सत्तारुढ दललाई ‘एकमात्र रक्षक’ का रूपमा प्रस्तुत गरेको आरोप छ ।

यस चलचित्रसँग जोडिएका मुख्य प्राविधिक र कलाकारहरूको सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिहरूलाई हेर्दा उनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नरेन्द्र मोदी र भाजपाको विचारधारासँग निकट देखिन्छन् । चलचित्रको प्रवर्द्धनमा भाजपाका उच्च नेताहरूको चासो र समर्थनले पनि यसलाई ‘पार्टीको सिनेमा’ बनाउन मद्दत गरेको छ ।

‘धुरन्धर २’ का धेरै दृश्यहरूमा मोदी सरकारले अघि सारेका योजनाहरू जस्तै– डिजिटल इन्डिया, सर्जिकल स्ट्राइक, र सीमा सुरक्षाका विषयहरूलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको छ । चलचित्रको पटकथा यस्तो तरिकाले बुनिएको छ कि दर्शकलाई लाग्छ, देशमा भएका सबै प्रगति वर्तमान नेतृत्वका कारण मात्र सम्भव भएको हो । यसले चलचित्रलाई कलाभन्दा बढी राजनीतिक विज्ञापन जस्तो बनाएको उनीहरूको भनाइ छ ।

विगतमा ‘द कश्मीर फाइल्स’ वा ‘द केरला स्टोरी’ जस्तै यस चलचित्रले पनि मतदाताको मनोविज्ञानमा असर पार्ने र भाजपाको पक्षमा जनमत सिर्जना गर्ने रणनीति लिएको दाबी गरिएको छ ।

भारतीय चर्चित युट्युबर ध्रुव राठीले चलचित्र ‘धुरन्धर २’लाई लिएर एउटा कडा विश्लेषण भिडियो सार्वजनिक गरे । उनले तथ्य र तर्कसहित यस चलचित्रलाई प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको ‘प्रोपागाण्डा’ फैलाउने एउटा योजनावद्ध औजारको रूपमा व्याख्या गरेपछि यसको थप आलोचना भइरहेको छ ।

यो चलचित्र किन ‘सिनेमा’ नभएर ‘राजनीतिक विज्ञापन’ हो भन्ने पुष्टि गर्ने प्रयास गर्दै राठीले चलचित्रका निर्देशक आदित्य धरलाई कडा प्रहार गर्दै भाजपाको ‘चाटुकार’ मात्र नभई ‘महा-चाटुकार’ को संज्ञा दिएका छन् । उनले चलचित्रको कथावस्तु र संवादहरू भाजपाको राजनीतिक एजेन्डालाई बढावा दिने गरी लेखिएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘उत्तर कोरियाका तानाशाह किम जोङ उनले पनि आदित्य धरको यो चाकरी देखेर ईर्ष्या गर्नेछन् ।’

चलचित्रको सुरुमा देखाइने ‘डिस्क्लेमर’लाई राठीले एउटा ‘कानुनी ठगी’को संज्ञा दिएका छन् । चलचित्रले वास्तविक घटना मोदीको शपथ ग्रहण, दाउद इब्राहिमको प्रसंगको फुटेज र नाम प्रयोग गरे पनि कुनै पनि समानतालाई ‘संयोग’ भन्नु सरासर झुट भएको उनको तर्क छ । उनले यसलाई जनताको ‘ब्रेनवास’ गर्ने प्रयास भनेका छन् ।

राठीका अनुसार चलचित्रले कथासँग सम्बन्ध नभएका दृश्यहरू राखेर दर्शकमा कुनै खास समुदायप्रति घृणा पैदा गर्ने प्रयास गरेको छ । पाकिस्तानमा एक सिख व्यक्तिलाई जिउँदै जलाइएको दृश्यको उदाहरण दिँदै उनले यसलाई ‘इमोशनल प्राइमिङ’ भनेका छन् । उनले भनेका छन्, ‘पहिले दर्शकको मनमा नफरत र रिस पैदा गरिन्छ र त्यसपछि सरकारको एजेन्डालाई ‘मलहम’ को रूपमा पस्किइन्छ ।’

चलचित्रमा देखाइएका एनजीओ, मिडिया र सामाजिक कार्यकर्ताहरूलाई विदेशी पैसामा चल्ने ‘देशद्रोही’ को रूपमा चित्रण गर्नु भाजपाको चुनावी न्यारेटिभसँग हुबहु मिल्ने उनले उल्लेख गरेका छन् ।

राठीले सन् २०१६ को नोटबंदी सम्बन्धी चलचित्रको दाबीलाई कडा चुनौती दिएका छन् । चलचित्रले पाकिस्तानबाट आएका अर्बौंका नक्कली नोट रोक्न नोटबंदी गरिएको दाबी गरे पनि राठीले आरबीआईको आधिकारिक तथ्याङ्क प्रस्तुत गर्दै उक्त समयमा मात्र ०.०००२ प्रतिशत नक्कली नोट भेटिएको बताएका छन् । उनले भनेका छन्, ‘घरको मुसो समात्न घरै जलाए जस्तै हो यो, जहाँ ८० भन्दा बढी सर्वसाधारणले ज्यान गुमाए तर चलचित्रले यसलाई मास्टरस्ट्रोक देखायो ।’

राठीले यो चलचित्रले जनतालाई ‘ग्यासलाइट’ गरिरहेको आरोप लगाएका छन् । ग्यासलाइटिङ भन्नाले मानिसले आफैँले देखेको र भोगेको सत्यलाई पनि शंका गर्न बाध्य पार्ने मनोवैज्ञानिक विधि हो । ‘तपाईँले एटीएमको लाइनमा बसेको कष्ट र सुरक्षा कमजोरीहरू भोग्नुभयो, तर चलचित्रले ‘होइन, त्यो त देश बचाउन गरिएको महान् कार्य थियो’ भनेर तपाईँको आफ्नै सम्झनालाई गलत सावित गर्न खोज्दैछ,’ राठी भन्छन् ।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले ‘धुरन्धर हेर्नेले भाजपालाई भोट दिनेछन्’ भनी दिएको अभिव्यक्तिलाई राठीले चलचित्र र राजनीतिको प्रत्यक्ष साँठगाँठको प्रमाणको रूपमा पेश गरेका छन् । ५०० रुपैयाँ तिरेर दर्शकले आफ्नै ‘ब्रेनवास’ गराइरहेको र यो भाजपाको अहिलेसम्मकै महँगो चुनावी विज्ञापन भएको उनको निष्कर्ष छ । साथै, उनले भिडियोको अन्त्यमा भारतीय सर्वोच्च अदालत र निर्वाचन आयोगलाई प्रश्न गरेका छन्,’के एउटा राजनीतिक दललाई प्रवर्द्धन गर्न र अर्कोलाई बदनाम गर्न यसरी तथ्य बंग्याएर चलचित्र बनाउन पाइन्छ ? ।’

ध्रुव राठीको यो भिडियोले यतिबेला सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ ।