‘मालती मंगले’को गीतमा विजय बरालको ‘शाहरुख अवतार’

काठमाडौं । आगामी बैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘मालती मंगले’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार सिनेमामा समावेश ‘ढुङ्गा माथि लेऊ’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक नयाँ गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई निकै रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ । यस भिडियोको मुख्य आकर्षण भनेको विजय बरालको ‘लुक्स’ हो । सन् २००० को चर्चित बलिउड चलचित्र ‘मोहब्बतें’ मा शाहरुख खानले अपनाएको ‘आइकनिक’ शैलीलाई यहाँ पछ्याइएको छ ।

विजय बराल काँधमा स्वीटर र हातमा भायोलिन बोकेर शाहरुख खानकै भेषमा प्रस्तुत भएका छन् । चलचित्रका निर्माता एवं गायक रामकृष्ण ढकालका अनुसार सिनेमाको कथामा वर्षाको पात्रले विजयलाई शाहरुखको रूपमा देख्ने कल्पना गर्ने भएकाले सोही अनुसारको सिर्जनात्मक प्रस्तुति दिइएको बताए ।

चलचित्रमा भने विजय शाहरुख खानको ‘स्टाइल’मा नदेखिने उनले स्पष्ट पारे । 

रानी फिल्म्सको ब्यानर र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस गीतमा गायक रामकृष्ण ढकाल र गायिका ऋतिका श्रेष्ठको स्वर रहेको छ । गीतमा चर्चित गीतकार हर्क साउदको शब्द र एसडी योगीको सङ्गीत छ भने रिकेश गुरुङले सङ्गीत संयोजन रहेको छ ।

यस गीतलाई रोशन बिकले आकर्षक कोरियोग्राफी गरेका छन् भने अर्जुन तिवारीले छायाङ्कन गरेका छन् ।

प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रको कथा निर्देशक स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ ।

चलचित्रमा विजय बराल र वर्षा राउतका साथै मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रका सह–निर्माताहरू बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ हुन् । चलचित्रको छायाङ्कन महेश पौडेलले गरेका हुन् भने सम्पादन रोमी मोजेजको रहेको छ ।

चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।