‘रामायण’को टिजर सार्वजनिक, भगवान रामको रूपमा रणबीरको भव्य अवतार, यशको लुकले बढायो कौतुहलता

काठमाडौं । भारतीय सिनेमाको सबैभन्दा महत्त्वाकांक्षी र प्रतीक्षित चलचित्र ‘रामायण’को टिजर सार्वजनिक भएको छ ।

बलिउडका चर्चित निर्देशक नितेश तिवारीको ड्रिम प्रोजेक्ट रहेको ‘रामायण’को निर्माण पक्षले २ मिनेट ३८ सेकेन्ड लामो टिजर सार्वजनिक गर्दै फिल्मको भव्यताको परिचय दिएको छ ।

विशेषगरी, अभिनेता रणबीर कपूरको ‘भगवान राम’को रूपमा देखिएको आश्चर्यजनक अवतारले यतिबेला सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ । ‘रामायण’को यो टिजरले विश्वभरका दर्शकको ध्यान खिच्न सफल भएको छ ।

सार्वजनिक टिजरमा रणबीर कपूरले भगवान रामको चरित्रका लागि आवश्यक पर्ने सौम्यता र शान्त स्वभावलाई पर्दामा उतारेका छन् । टिजरमा विभिन्न कालखण्डका दृश्यहरू देखाइएको छ, जहाँ रणबीर प्रत्येक ‘लुक’ मा उत्तिकै कम्पोज्ड र प्रभावशाली देखिएका छन् । अयोध्याको दरबारको चित्रण, रामको धनुष र पौराणिक वातावरणलाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

टिजरको सबैभन्दा चर्चाको विषय बनेको छ, ‘रावण’ । दक्षिण भारतीय सुपरस्टार यशलाई रावणको रूपमा पूर्ण रूपमा नदेखाइए पनि भिडियोको अन्त्यमा उनको छोटो झलक दिइएको छ । पछाडिबाट देखिएको उनको विशाल कद, गेटअप र पृष्ठभूमिमा देखाइएको ‘पुष्पक विमान’ ले दर्शकमा कौतुहलता थपेको छ ।

त्यस्तै, टिजरमा माता सीताको रूपमा साई पल्लवी र लक्ष्मणको रूपमा रवि दुबेको छोटो उपस्थिति देख्न सकिन्छ । एआर रहमान र ओस्कार विजेता संगीतकार हान्स जिमरको संयुक्त पृष्ठभूमि संगीतले टिजरलाई थप प्रभावशाली बनाएको छ ।

धेरै सकारात्मक पक्षहरू हुँदाहुँदै पनि टिजरको एउटा पाटोले भने दर्शकलाई खल्लो महसुस गराएको छ । टिजरको सुरुमा देखाइएका दुई राक्षसहरूको ग्राफिक्स र भीएफएक्स गुणस्तरहीन देखिएको टिप्पणी सुरु भएको छ । कतिपयले यसलाई अघिल्लो फिल्म ‘आदिपुरुष’ को एनिमेसनसँग तुलना गर्दै आलोचना गरेका छन् । २ मिनेट ३८ सेकेन्डको यो भिडियोमा ती राक्षसहरूको चित्रणलाई सबैभन्दा कमजोर भाग मानिएको छ ।

निर्देशक तिवारीले ‘रामायण’लाई दुई भागमा निर्माण गरेका छन् । यसको पहिलो भाग सन् २०२६ को दिवालीमा सिनेमाघरमा आउनेछ भने दोस्रो भाग सन् २०२७ को दिवालीमा प्रदर्शन हुने तयारी छ ।

यस फिल्ममा रणबीर कपूर (राम), साई पल्लवी (सीता) र यश (रावण) सँगै सनी देओल हनुमान, रवि दुबे लक्ष्मण, लारा दत्ता कैकेयी र ‘पुरानो रामायण’ का चर्चित अभिनेता अरुण गोविल राजा दशरथको भूमिकामा देखिनेछन् । यसका साथै फिल्ममा रकुल प्रीत सिंह र विवेक ओबेरोय जस्ता कलाकारहरू पनि महत्वपूर्ण भूमिकामा देखिने बताइएको छ ।

गत वर्ष केवल शीर्षक र सानो झलक मात्र सार्वजनिक गरेका निर्माताहरूले यसपटक रणबीर कपूरको पूर्ण लुक सार्वजनिक गरेर उत्साह बढाएका छन् । यद्यपि, रावण, सीता र हनुमानको विस्तृत लुक अझै गोप्य राखिएको छ । ट्रेलर सार्वजनिक हुँदा यी सबै पात्रहरूको पूर्ण स्वरूप देखिने आशामा प्रशंसकहरू रहेका छन् ।

यो पनि पढ्नुहोस्

४ हजार करोडको ‘रामायण’मा ४ सयको विग, फ्यानहरूले भने- आदिपुरुषबाट केही सिक्नुभएन ?