विराजको ‘मास अवतार’ र सुशीलको एक्शन यस्तो छ ‘राम नाम सत्य’को पावरफुल ट्रेलर

काठमाडौं । नयाँ वर्षको अवसर पारेर चैत २७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले बिहीबार एक कार्यक्रमाको आयोजना गर्दै ३ मिनेट १५ सेकेण्डको एक्सनपूर्ण ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रको सार्वजनिक ट्रेलर हेर्दा यसको मेकिङ र एक्सन गज्जब देखिएको छ । एक्शन मन पराउने दर्शकका लागि यो सिनेमा विशेष हुने देखिन्छ ।

‘एक्शन किङ’का रूपमा परिचित अभिनेता विराज भट्ट र एक्सन स्टारका रुपमा चिनिने अभिनेता सुशील श्रेष्ठको मुख्य अभिनय रहेको यस ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता बढाउन सक्ने सामर्थ्य राखेको छ ।

विराज र सुशीललाई शक्तिशाली अवतारमा देखाइएको ट्रेलरमा अन्याय र अत्याचार विरुद्धको लडाईंलाई मुख्य विषयवस्तु बनाइएको देखिन्छ ।

‘पर्दा पछाडिको पर्दा’ भन्ने उपशीर्षक दिइएको यस चलचित्रको ट्रेलरमा सुरुवातदेखि अन्त्यसम्म धमाकेदार एक्शन सिनहरू समावेश छन्, जसले विराज भट्टको ‘मास अपील’लाई पुनः चरितार्थ गरेको छ ।

ट्रेलरमा दुई फरक अवतारमा विराजलाई एकमा गम्भीर र दाह्री पालेको ‘रफ एण्ड टफ’ लुकमा छन् भने अर्कोमा उनी आधुनिक र स्टाइलिस देखिएका छन् । उनले चलाउने अत्याधुनिक हतियार र मेसिन गनका दृश्यले फिल्ममा ठूलो स्तरको हिंसा र बदलाको कथा रहेको देखाउँछ ।

ट्रेलरमा सुशील श्रेष्ठलाई ‘एक्शन स्टार’का रूपमा प्रस्तुत गरिएको छ । उनको ‘इन्ट्री’ र सुरुवाती फाइट सिनहरूले सुशीललाई एउटा योद्धाका रूपमा स्थापित गर्छ ।

ट्रेलरको अन्त्यतिर विराज र सुशील एउटै कोठामा आमने-सामने भएको दृश्यले उनीहरूबीचको सम्बन्ध मित्रवत छ कि शत्रुतापूर्ण भन्ने कौतुहलता जगाउँछ । यी दुई कलाकारबीचको देखिएको टकराबले चलचित्रको कथावस्तुमा सस्पेन्स रहेको संकेत गर्छ ।

चलचित्रको ट्रेलरमा दिवंगत दिग्गज अभिनेता सुनील थापालाई ट्रेलरमा खलपात्रको शक्तिशाली भूमिकामा देख्न सकिन्छ । त्यस्तै, अभिनेत्रीहरू सुपुष्पा भट्ट र दिब्या रायमाझीले पनि ट्रेलरमा राम्रो स्थान पाएका छन् । उनीहरूको भूमिका प्रेम र पारिवारिक भावनासँग जोडिएको देखिन्छ ।

‘राम नाम सत्य’ सामान्यतया मृत्युको समयमा भनिने वाक्य हो । तर ट्रेलरमा यसलाई ‘न्यायको अन्तिम बाटो- राम नाम सत्य’ भनेर व्याख्या गरिएको छ । यसको अर्थ, अन्याय गर्नेहरूका लागि नायकले मृत्युदण्ड (राम नाम सत्य) दिनेछ भन्ने सन्देश दिन खोजिएको बुझिन्छ ।

ट्रेलरमा समावेश ‘बाँच्छु न कान्छी’ बोलको गीत र नाचगानका दृश्यले चलचित्रमा एक्शनका साथै मनोरञ्जनको पूर्ण प्याकेज रहेको पुष्टि गर्छ । चलचित्रको छायांकन गाउँले परिवेशदेखि फ्याक्ट्री सम्म गरिएको छ, जसले दृश्यमा विविधता थपेको छ ।

ट्रेलरमा ‘अन्याय विरुद्धको यो दाउ हुँ म, पर्दा पछाडिको पर्दा हुँ म’ जस्ता शक्तिशाली संवादहरू सुन्न सकिन्छ । विराजले बोलेका केही ‘वान-लाइनर’ संवादहरूले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।

माइकल चन्द निर्देशित यो चलचित्रमा आयुषसिंह ठकुरी, खुसी कार्की, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीलगायतका कलाकारको पनि अभिनय छ ।

माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको चलचित्रका क्रियटिभ निर्माता मोती कार्की हुन् ।

राजेन्द्र आचार्य लाइन प्रोड्युसर रहेको चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ । अभिमन्यू निरवी र समय थपलिया चलचित्रका स्क्रिप्ट सल्लाहाकार हुन् ।

माइकल चन्दकै कथा र पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, काला चरणको पाश्र्वध्वनि छ । साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन् ।

नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेकाले पनि यस चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।