बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए बले
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको आरोप लगाएसँगै यसको असर चलचित्र ‘पाँच पाण्डव’मा परेको छ ।
अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार बले माथि बलात्कारको आरोप लागेसँगै ‘पाँच पाण्डव’ले उनको विकल्प खोज्ने भएको छ ।
निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लमसाललाई फिल्मबाट हटाउने र उनको ठाउँमा अर्को कलाकार लिएर पुनः छायांकन गर्ने निर्णय सार्वजनिक गरेको हो ।
सागर लम्सालको करिब ९० प्रतिशत दृश्यहरू खिचिसकिएको अवस्थामा यो विवाद बाहिर आएको हो । निर्माण पक्षले अब लमसाल संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश नगर्ने र ती सबै दृश्य फेरि खिच्ने (रि-सुट) स्पष्ट पारेको छ । चलचित्रको बजेट बढे पनि अर्को कलाकार भित्र्याएर ‘रि–सुट’ गर्न तयार रहेको प्रस्तुतकर्ता नबिन श्रेष्ठले बताए ।
‘यस्तो गम्भीर आरोप लागेपछि, भोलि चलचित्र रिलिजको समयमा दर्शकले हाम्रो सिनेमालाई दर्शकले खराब नजरले हेर्न सक्नुहुन्छ,’ श्रष्ठले भन्छन्, ‘यो गम्भीर विषयमामा हामी पर्न चाहँदैनौँ ।’
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, दीपाश्री निरौला, जनी गुरुङ, प्रशान्त ताम्राकार, इभा गिरी लगायत कलाकार मुख्य भूमिकामा छन् ।
वसन्त निरौलाले निर्देशन गरिरहेको चलचित्र चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको थियो । चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् ।
चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । ४० दिनको छायांकन तालिका तय गरिएको यस चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए ।
कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिचिरहेका छन् ।
दर्शकले यो चलचित्रमा ‘फुल डल्बी एट्मस’ साउन्डको गुणस्तरीय अनुभव गर्न पाउनेछन् । म्युजिक नेपालले भर्खरै सञ्चालनमा ल्याएको अत्याधुनिक डल्बी एट्मस साउन्ड स्टुडियोमा यसको साउन्ड डिजाइन र मिक्सिङको काम हुने निर्माण टिमले जनाएको छ ।
दिग्गज कलाकारहरूको अभिनय, सामाजिक कथावस्तु र अत्याधुनिक प्रविधिको प्रयोगका कारण ‘पाँच पाण्डव’ ले सिने वृत्तमा अहिलेदेखि नै निकै चर्चा कमाउन सफल भएको छ ।



