निफमा ‘शोले’ निर्देशक सिप्पीले के भने ?
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को दोस्रो दिन शुक्रबार बलिउड फिल्म ‘शोले’का निर्देशक रशेम सिप्पी र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद भएको छ ।
लेखकद्वय सलीम–जावेदले आफूलाई फिल्म ‘शोले’ निर्देशन गर्न दिनुका कारणबारे उनले सेयर गरे, “उनीहरूसँग एउटा सानो आइडिया थियो । त्यो आइडिया पहिले अरु कसैको लागि थियो । उनले यो मेरो प्रकारको फिल्म होइन भनेर गरेनन् । त्यसपछि उनीहरूले मलाई एक आर्मी अफिसर र दुई अपराधीहरूको कथा सुनाए । म भाग्यमानी थिएँ कि मसँग ती दुई अद्भुत लेखकहरू थिए र हामीले यस्तो स्क्रिप्ट तयार गर्न सक्यौं जसमा सबै तत्वहरू थिए ।”
स्क्रिप्ट तयार भएको ६ महिनामा छायाङ्कन सुरु भएको सिप्पीले सुनाए । उनका अनुसार यो फिल्म एक करोड बजेटमा सक्ने योजनाका साथ १९७३ अक्टोबर २ छायाङ्कन सुरु भएको थियो ।
उनले थपे, “तर बन्दै जाँदा यो ३ करोड पुग्यो । मौसमका कारण एउटा दृश्य खिच्न मात्र २१ दिन लागेको थियो ।”
हमालले सिप्पीलाई ‘यो फिल्म असफल भएको भए के हुन्थ्यो ?’ भन्ने प्रश्न गरे । सिप्पीले भने, “म यहाँ (निफमा) हुँदैन थिएँ ।”
हमालले फिल्मका सबै पात्रसहित घोडाकोसमेत नाम दर्शकलाई याद हुने गरी अद्भुत फिल्म ‘शोले’ निर्देशन गरेको भन्दै सिप्पीको प्रशंसा गरे ।
त्यस्तै, आजबाट निफ अन्तर्गत रहेर ‘रसियन फिल्म डेज’ पनि सुरु भएको छ । फिल्म ‘अगस्ट’ प्रदर्शन गरी यस कार्यक्रमको सुरुवात गरिएको हो ।


