कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

कलाकार बलेमाथि बलात्कार आरोप थियो । प्रहरी स्रोतका अनुसार सोही आरोपका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकारीले लम्साललाई नियन्त्रणमा लिएको पुष्टि गर्दै उनलाई अहिले थप अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।

अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।

सागर लम्साल नेपाली कलाकारिता क्षेत्रमा ‘बले’ उपनामले निकै चर्चित छन् । विशेषगरी टेलिश्रृंखला ‘भद्रगोल’ र त्यसपछि ‘सक्किगोनी’ मार्फत उनले ठूलो दर्शक वर्ग कमाएका छन् । अभिनयका साथै उनी दर्जनौँ म्युजिक भिडियोहरूमा समेत अभिनय गरेका छन् ।

कलाकारिता क्षेत्रमा चिनिएका व्यक्ति नै यस्तो गम्भीर आरोपमा पक्राउ परेपछि अहिले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अनुसन्धान भइरहेको बताएको छ ।