१० महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।

समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याएका १० जना महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको थियो ।

समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भइन् । विशेष अतिथिका रूपमा नेपाली चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व बसुन्धरा भुसाल र चैत्यदेवी सिंह को उपस्थिति रहेको थियो ।

चलचित्र विकास बोर्डका पदाधिकारी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरू, चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि र प्रमुख अतिथिबाट नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित हुने १० महिला चलचित्रकर्मीमा गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, रीना मोक्तान, प्रज्ञा जोशी, देविका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङ रहेका थिए ।

समापन समारोहको अर्को विशेष आकर्षण सांगीतिक प्रस्तुति रह्यो । महिला कलाकारद्वारा नेपाली नौमति बाजासहित कार्यक्रमलाई अझ उल्लासमय बनाइएको थियो । सो अवसरमा देविका बन्दना, बिन्दु परियार, समीक्षा दाहाल लगायतका कलाकारहरूले गीत प्रस्तुत गर्दै समारोहलाई सांगीतिक उचाइ दिएका थिए । सम्मान, संस्कृति र संगीत एकै मञ्चमा मिसिएको यो दृश्यले कार्यक्रमलाई अझ भावुक, जीवन्त र स्मरणीय बनाएको थियो ।

कार्यक्रममा चलचित्र ‘कुमारी’का कलाकारहरूको मुहारचित्र हस्तान्तरण तथा ललितकला कलाकारहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो । यसले महोत्सवलाई केवल सम्मान समारोहमा सीमित नराखी, नेपाली चलचित्रको कलात्मक र सांस्कृतिक विरासतसँग जोडिएको बहुआयामिक उत्सवका रूपमा स्थापित गरेको देखियो ।