‘एक्सनले मात्र सिनेमा चल्दैन, कथा चाहिन्छ’: विराज भट्ट
काठमाडौं । लामो समयदेखि ‘एक्सन स्टार’को छवि बनाएका अभिनेता विराज भट्टले चलचित्र सफल हुन एक्सन मात्र नभएर बलियो कथावस्तु र भावना अनिवार्य रहेको बताएका छन् ।
आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता भट्टले यस्तो धारणा राखेका हुन् ।
उनले चलचित्रमा कलाकारको उत्कृष्ट अभिनय, निर्देशकको भिजन र कथाको गहिराइले मात्र दर्शकको मन जित्न सकिने बताए ।
कार्यक्रममा बोल्दै विराजले भने, ‘हाम्रो समाजमा एक्सन सिनेमा भन्नेबित्तिकै मारधाड र फाइटलाई मात्र दिमागमा राख्ने चलन छ । तर, केवल फाइटले मात्र चलचित्र चल्दैन । त्यसमा एउटा बलियो कथा र इमोसन हुनुपर्छ । एक्सन पनि कथाको भावनासँग जोडिएको हुनुपर्छ ।’
उनले अगाडि थपे, ‘कलाकारको उत्कृष्ट अभिनय, राम्रो नृत्य र निर्देशकको क्षमता– यी सबै कुरा महत्त्वपूर्ण हुन्छन्, तर सबैभन्दा मुख्य पक्ष भनेकै कथा हो ।’
‘राम नाम सत्य’को ट्रेलरबारे चर्चा गर्दै विराजले चलचित्रमा दर्शकले एक्सनका साथै सामाजिक र पारिवारिक संवेदना पाउने दाबी गरे । उनले यो चलचित्र केवल मारकाटमा मात्र सीमित नभएर महिला सेन्टिमेन्ट र प्रभावशाली प्रस्तुतिले भरिएको बताए । उनले भने, ‘यो सिनेमाले सबै किसिमका दर्शकलाई बाँधेर राख्नेछ । यसमा सस्पेन्स र बलियो इमोसनको सम्मिश्रण छ ।’
कार्यक्रममा ‘एक्सन स्टार’को ट्याग नयाँ कलाकारहरूले पाइरहेको सन्दर्भमा विराज निकै उदार देखिएका थिए । अभिनेता सुशील श्रेष्ठलाई नयाँ पुस्ताको एक्सन स्टारका रूपमा हेरिएकोमा टिप्पणी गर्दै उनले भने, ‘यो स्टार वा ट्याग कसैले घरबाट बोकेर ल्याउने होइन, मेहनतले कमाउने हो । हिजो हामी थियौँ, आज नयाँ पुस्ता आएको छ । यो एक स्वाभाविक प्रक्रिया हो र नयाँले मान-सम्मान पाउनै पर्छ ।’
सोही अवसरमा अभिनेता सुशील श्रेष्ठले विराज भट्टलाई ‘एक्सन किङ’ को संज्ञा दिँदै उनीसँग स्क्रिन सेयर गर्न पाउनु आफ्नो लागि अहोभाग्य रहेको बताए ।
‘राम नाम सत्य’लाई माइकल चन्दले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । म्युजिक भिडियो निर्देशनमा स्थापित चन्दले चलचित्रका लागि विगत ५–६ वर्षदेखि तयारी गरिरहेको बताए । साथै, उनले फिल्ममा महिला संवेदना र सशक्त पात्रहरूलाई पनि विशेष स्थान दिइएको स्पष्ट पारे ।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिराज र सुशीलका साथै सुपुष्पा भट्ट, सुधीर श्रेष्ठ, दिव्या रायमाझी, खुसी कार्की र स्वर्गीय कलाकार सुनिल थापाको मुख्य अभिनय रहेको छ ।
चलचित्रका निर्माता उपेन्द्र शाही र श्वेता विमली हुन् । कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने फिल्ममा क्रिएटिभ निर्माता मोती कार्की रहेका छन् ।
माइकल चन्दकै कथा र पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, काला चरणको पाश्र्वध्वनि छ । साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन् ।
नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेकाले पनि यस चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

