सात वर्षको मौनता तोड्दै पुरानो र नयाँ पुस्ता जोड्ने सुशील

काठमाडौं । निर्माता सुशील पोखरेल अन्ततः कमब्याक गरेका छन् । उनी शक्तिशाली कथा ‘परालको आगो’मार्फत कमब्याक गरेका छन् ।

करिब ७ वर्षको अन्तरालपछि उनको कमब्याक फिल्म ‘परालको आगोले’ले यतिबेला नेपाली फिल्म उद्योगमा उत्सुकता बढाइरहेको छ ।

पोखरेलले ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभसब’, ‘राधे’ हुँदै पछिललो फिल्म ‘यात्रा’ जस्ता फिल्ममार्फत उनले ठूला स्टारहरूसँग काम गर्दै हिट सिनेमा दिएका छन् ।

विशेषगरी ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ जस्ता फिल्मले उनको सफलताको प्रमाण दिन्छन् । पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म जोड्ने सेतुका रूपमा चिनिने सुशील पोखरेलले अभिनेत्री झरना थापासँग काम गरेका थिए भने अहिले उनकी छोरी सुहाना थापासँग ‘परालको आगो’मा सहकार्य गर्दै छन् । यो आफैँमा एउटा विरासतको निरन्तरता हो ।

कमब्याक फिल्म ‘परालको आगो’मा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपूत मुख्य भूमिकामा देखिँदै छन् । सामाजिक यथार्थ, गहिरो भावना र शक्तिशाली कथा बोकेको यो फिल्म बैशाख ११ गते प्रदर्शनमा आउँदै छ।

लक्ष्मण सुनारले निर्देशन गरेका छन् भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् ।