‘बले’लाई पाँच दिन हिरासतमा राख्न अनुमति, अनुसन्धान सुरु
काठमाडौं । कलाकार सागर लम्साल (बले)लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रशासनले अभद्र व्यवहार कसुरमा ‘बले’लाई हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो । उनलाई प्रहरीले शनिबार बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो ।
आइतबार दिउँसो हतकडी लगाएर सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएपछि उनलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय पुर्याइएको थियो ।
अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जानकारी दिएको छ ।
अमेरिका बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत सागरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार बलात्कारको भने अहिल्यसम्म जाहेरी परेको छैन । हालसम्म पीडितको तर्फबाट प्रहरीमा ‘बलात्कार’ सम्बन्धी आधिकारिक उजुरी भने दर्ता भइसकेको छैन ।
पीडित पक्षबाट औपचारिक उजुरी नआइसकेका कारण प्रहरीले हाललाई उनलाई ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । प्रहरी स्रोतका अनुसार उजुरी परेपछि मात्रै बलात्कारको मुद्दामा थप कानुनी प्रक्रिया अघि बढ्नेछ ।
राष्ट्रिय अवार्ड प्राप्त अभिनेत्री समेत रहेकी ती युवतीले शुक्रबार सामाजिक सञ्जालमा एक लामो पोस्ट लेख्दै एक वर्षअघिको घटना सार्वजनिक गरेकी थिइन् । उनका अनुसार एक वर्षअघि अमेरिकामा भेट हुँदा सागरले आफू बस्ने अपार्टमेन्टमा पुगेर आफूलाई बलात्कार गरेको दाबी गरेकी थिइन् ।
उनले सागरलाई फेसबुकमा सिधै ‘मेन्सन’ गर्दै लेखेकी थिइन्, ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’
आफूमाथि भएको अन्यायबारे ढिलो गरी मुख खोलेकी ती युवतीले लेखेकी छिन्, ‘आज अलिकति हिम्मत जुटाएर यो लेखेँ । मलाई थाहा छ- मैले न्याय पाउँदिन होला, र अब लड्ने शक्ति पनि बाँकी छैन । तर, जसले मलाई यति ठूलो अन्याय गर्यो, उसले त्यसको परिणाम भोग्नै पर्छ । भविष्यमा उसले अरू कसैलाई यस्तो गर्न पाउनु हुँदैन ।’
उनले दोषी व्यक्ति नेपाल फर्किएर खुलेआम घुमिरहेको देख्दा सहन नसकेर घटना सार्वजनिक गरेको उल्लेख गरेकी थिइन् ।


