१७ वर्षको प्रतिष्ठा १७ सेकेन्डमै धुलोपीठो भयो भन्दै भक्कानिए बले

काठमाडौं । सामाजिक सञ्जालमा लागेको गम्भीर आरोपपछि पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’लाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

बलात्कार जस्तो जघन्य अपराधको आरोप लागे पनि हालसम्म औपचारिक जाहेरी नपर्दा प्रहरीले उनलाई ‘अभद्र व्यवहार’को कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत बलेले आफूलाई बलात्कार गरेको गम्भीर आरोप लगाएकी थिइन् । ती युवतीले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै एक वर्षअघि सागरसँग अमेरिकामा भेट हुँदा आफू बस्ने अपार्टमेन्ट लैजान आग्रह गरेको र त्यहीँ आफू बलात्कृत भएको दाबी गरेकी थिइन् ।

उनले बलेलाई फेसबुकमा मेन्सन गर्दै ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’ भनेर प्रश्न समेत गरेकी थिइन् ।

सोही आरोपका आधारमा प्रहरीले शनिबार उनलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो । कानुनी रूपमा बलात्कारको मुद्दा चलाउन पीडितको औपचारिक किटानी जाहेरी अनिवार्य हुन्छ । तर, हालसम्म ती युवतीले प्रहरीमा कुनै लिखित उजुरी नदिएका कारण प्रहरीले बलेलाई थुनामा राख्न ‘अभद्र व्यवहार’ सम्बन्धी प्रावधानको सहारा लिएको छ ।

बलेलाई आइतबार दिउँसो हतकडी लगाएर सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएपछि म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय पुर्‍याइएको थियो । जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

म्याद थपका लागि लैजाने क्रममा कलाकार सागर लम्साल ‘बले’लाई भेट्न पुगेका चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’का निर्देशक राजु गिरीले उनको भनाइ उद्धृत गर्दै यतिबेला उनी मानसिक रूपमा निकै विक्षिप्त बनेको बताए ।

एक अनलाइन मिडियासँगको कुराकानीमा निर्देशक गिरीले भने- वर्षौदेखि कमाएको नाम र सम्मान एउटा सामाजिक सञ्जालको पोस्टले क्षणभरमै ध्वस्त पारेको भन्दै सागर भक्कानिएका थिए ।

‘१७ वर्षको मेरो मेहनत १७ सेकेन्डमै गयो भन्दै सागर धुरुधुरु रोए,’ गिरी भन्छन्, ‘उनको अवस्था दयनीय छ । सत्य के हो अनुसन्धानले देखाउला, तर एउटा कलाकारको छविमा लागेको यो दागले उनको भविष्यमा ठुलो प्रश्न चिह्न खडा गरिदिएको छ ।’

यो प्रकरणपछि बलेको व्यावसायिक करियरमा ठुलो धक्का लागेको छ । उनको भूमिकामा रहने भनिएको फिल्म ‘पाँच पाण्डव’ बाट निर्माण टिमले उनलाई औपचारिक रूपमा निष्कासित गरिसकेको छ ।

त्यस्तै, बलेको शीर्ष भूमिका रहेको अर्को फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को प्रदर्शन पनि अब संकटमा परेको छ । चैत २७ गते प्रदर्शनमा आउने भनिएको यो चलचित्रको केही प्राविधिक काम अझै सम्पन्न हुन बाँकी रहेको र प्रचारप्रसारका लागि पर्याप्त समय अभाव भएकाले प्रदर्शन मिति पोस्टपोन्ड गरिएको थियो ।

निर्देशक गिरी भन्छन्, ‘फिल्मको एउटा गीत खिच्न बाँकी थियो र प्रदर्शनको तयारी चल्दै थियो । तर, मुख्य कलाकार नै यसरी कानुनी झमेलामा परेपछि अब फिल्म कहिले र कसरी रिलिज गर्ने भन्नेमा हामी पूर्ण रूपमा अन्योलमा छौँ ।’

निर्देशक गिरीले प्रहरीको यो कदमलाई ‘एकतर्फी र हतारो’को संज्ञा दिएका छन् । ‘महिलाले आरोप लगाउनेबित्तिकै पुरुष सिधै जेल जानुपर्ने यो कस्तो कानुन हो ?’ गिरीले भने, ‘आरोप लगाउने चेलीले एक वर्षसम्म के हेरेर बसिन् ? दोषी भए सजाय पाउनुपर्छ, तर विना जाहेरी र विना प्रमाण कसैको करियर बर्बाद पार्न पाइँदैन ।’

निर्देशक गिरीले विना जाहेरी प्रहरीले देखाएको सक्रियतामाथि प्रश्न उठाउँदै भनेका छन्, ‘एक वर्षअघिको घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ गर्नु कत्तिको न्यायोचित हो ? दोषीलाई कडा सजाय हुनुपर्छ, तर निर्दोषलाई फसाउने खेल नहोस् ।’

प्रहरीले अहिले ती युवतीसँग सम्पर्क गर्ने र कानुनी प्रक्रियालाई अगाडि बढाउने कोसिस गरिरहेको छ । युवतीले औपचारिक जाहेरी दिएमा यो मुद्दा जबरजस्ती करणीको रुपमामा अगाडि बढ्नेछ भने जाहेरी नपरेको खण्डमा ‘अभद्र व्यवहार’ अन्तर्गतको कारबाही पछि सागर रिहा हुन सक्ने सम्भावना पनि रहन्छ । तर, कानुनी प्रक्रिया जे भए पनि ‘बले’को सामाजिक र व्यावसायिक छविमा लागेको यो चोट निको हुन भने लामो समय लाग्ने देखिन्छ ।