दबाबमा विराज र ‘राम नाम सत्य’, उच्च शोज पाएको सिनेमाले फर्किएला सुस्ताएको बक्सअफिस ?
काठमाडौं । चैत २७ गते चलचित्र ‘राम नाम सत्य’ रिलिज हुँदा नयाँ वर्षको रौनक सुरु भइसकेको हुन्छ । नयाँ वर्षको बिदालाई लक्षित गर्दै यो सिनेमा रिलिज हुँदा यसलाई दुईवटा दबाब हुनेछ ।
एक, सुस्ताएको बजार फर्काउने । दुई, विराज भट्टले ‘१२ गाउँ’मार्फत उकासेको हाइपलाई कायम राख्ने ।
चलचित्र ‘आ बाट आमा’ पछि अन्य नेपाली सिनेमाले हलसम्म दर्शक तान्न सकेनन् । सिनेमा रिलिज हुने र उत्रिने क्रम निरन्तर चलिरह्यो । सिनेमा रिलिज भएको र उत्रिएको पत्तै नहुने अवस्था आयो । सिनेमा रिलिज हुने र उत्रिने क्रमले तीव्रता पाउँदा नेपाली बक्सअफिस सुस्तायो । नेपालका सिनेमा हलमा नेपाली सिनेमा नै नरहने अवस्था आयो ।
‘धुरन्धर’को छायामा नेपाली सिनेमा परे । यो समयमा नेपाली चलचित्र नै नरहने अवस्था आयो ।
सुस्ताएको यो बक्सअफिसलाई लयमा फर्काउने जिम्मा अब ‘राम नाम सत्य’ र विराज भट्टको काँधमा छ । गीत दर्शकले मन पराएको र ट्रेलरले पनि राम्रो भ्युुज पाइरहेको अवस्थामा यो सिनेमाले सुस्ताएको बजारलाई फर्काउनेमा निर्माण टिम ढुक्क देखिएको छ ।
चलचित्रले ठूलो संख्यामा शोज पाएको छ । सोलो रिलिजको मौका पाएको चलचित्रले देशभरका हलमा ठूलो संख्यामा शोज पाएको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समाले ५९ शोज पाएको छ । क्यूएफएक्सले काठमाडौं उपत्यकामा २७ र काठमाडौं बाहिर ३२ शोज उपलब्ध गराएको छ ।
आईएनआईले देशभरका आफ्ना ६ वटा हलमा २३ शो दिएको छ । अन्य मल्टिप्लेक्सले शोज निकाल्न बाँकी छ ।
लामो समयदेखि एक्सन चलचित्र नलचेकाले पनि दर्शकको नजरमा यो सिनेमा पर्छ कि भन्ने निर्माण टिमको अपेक्षा छ । ‘१२ गाउँ’ यता नेपाली एक्सन सिनेमा चलेका छैनन् । ‘१२ गाउँ’मा पनि विराज नै थिए । ‘राम नाम सत्य’मा पनि विराज नै छन् । त्यसैले यो सिनेमाले दर्शकलाई तान्छ भन्नेमा निर्देशक माइकल चन्दको विश्वास छ ।
एक्सनसँगै प्रेम र सस्पेन्स पनि सिनेमामा रहेकाले धेरैको नजरमा यो सिनेमा पर्नेमा उनी ढुक्क छन् । वर्षको अन्तिममा आएर नेपाली सिनेमाको बजारलाई लयमा फर्काउने र अरु सिनेमाले पनि बाटो लिनु पर्ने निर्देशक चन्द बताउँछन् ।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिराजसँगै सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, सुधीर श्रेष्ठ, दिव्या रायमाझी, खुसी कार्की र स्वर्गीय कलाकार सुनिल थापाको मुख्य अभिनय रहेको छ ।
चलचित्रका निर्माता उपेन्द्र शाही र श्वेता विमली हुन् । कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने फिल्ममा क्रिएटिभ निर्माता मोती कार्की रहेका छन् ।
माइकल चन्दकै कथा र पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, काला चरणको पाश्र्वध्वनि छ । साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन् ।
नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेकाले पनि यस चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

